मकवानपुर । मकवानपुरमा आज असार १ गतेबाट निषेधाज्ञा १ हप्ता निषेधज्ञा थप भएको छ । गत बैशाख १९ गते राती १२ बजेबाट जारी निषेधाज्ञाकाे अवधी केही खुकुलाे गरी थप गरिएकाे हाे ।
मकवानपुर जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्ला सुरक्षा समितिलाइ १ हप्ता निषेधज्ञा थप्न सिफारिस गरे बमाेजिम प्रमुख जिल्ला अधिकारीकाे आदेशबाट असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्बिएकाे हाे ।
निषेधज्ञाको स्वरूप भने परिवर्तन भएको छ । असार १ गतेबाट खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन हुने छ । यो बाहेक स्टेस्नरी, मोवाईल, अटो, मोटरसाईकल मर्मत सेन्टर पनि बिहान सोहि समयमा सञ्चालन हुनेछन् ।
यसअघि हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंकहरु अव प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुने छ । वित्तिय सहकारी पनि खुल्नेछन तर बजारमा पैसा संकलन गर्न भने पाउनेछैन ।
निषेधाज्ञामा के गर्न हुने के गर्न नहुने बुदाँमा
१. औषधी उपचार र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन, मर्निङ तथा इभनिङ्ग वाकमा जान र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू, पुस्तक तथा स्टेसनरी, कम्प्युटर तथा मोबाईल मर्मत गर्ने पसलहरू (आलोपालो मिलाई) विहान ४:०० बजेदेखि विहान १०:०० बजेसम्म मात्र खोल्न पाइने । औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने । यसरी पसल खोल्दा अनिवार्यरूपमा भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।
तर,
. हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने, – फलफूल तथा तरकारीको थोक बजारबाट खुद्रा विक्री वितरण गर्न नपाइने,
– होलसेल खाद्यान्न विक्रेताहरूले खुद्रा विक्री वितरण गर्न नपाउने,
३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक (मयुरी, अटो, ट्याम्पो समेत) वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र
अन्य ढुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने ।
४. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।
५. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने । औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १०:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने र सोही समयमा मात्र सवारी साधन मर्मत गर्ने वर्कसपहरू खोल्न पाइने ।
६. अत्यावश्यक सरकारी सेवाहरू एक चौथाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
७. बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक चौथाई कर्मचारीहरूबाट विहान १०:०० बजेदेखि दिनको २:०० बजेसम्म मात्र सञ्चालन गर्ने । वित्तिय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने र समूह भेला गरी रकम संकलन गर्ने, गराउने कार्य पूर्णरूपमा बन्द हुनुपर्ने ।
८. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।
९. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ (सात) जनासम्म मात्र जान सकिने । ।
१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई सम्बन्धित उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने ।
११. विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थल मदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।
१२. प्रकरण नं. १ देखि ११ सम्म उल्लिखित आदेश उल्लङ्घन गरेमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश. २०७८ को दफा २१ र २२ बमोजिम समेत देहायअनुसार कारबाही गरिने छ ।
क. कुनै व्यक्तिले यो आदेशको उल्लङ्घन गरेमा एक लाख रूपैयाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँच लाख रूपैयाँसम्म जरिबाना,
ख. मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रूपैयाँ,
ग. मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रूपैयाँ,
घ. अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधन भए दुई हजार रूपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रूपैयाँ जरिबाना लगाई निश्चित समयसम्म सवारी साधन नियन्त्रणमा लिइने,
ङ. यस आदेशको विपरीत काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेखित कारबाहीको अतिरिक्त ६ महिनासम्मको लागि बन्द गर्न सकिनेछ ।