मकवानपुर । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रशासनले निषेधाज्ञा घोषणा गर्ने तयारी गर्दै गर्दा उनी (नाम गोप्य) जिल्ला कानुन सहायता समितिसम्मको यात्राको तयारीमा थिइन् ।
लामो समयदेखि आफूमाथि श्रीमानले शारीरिक तथा मानसिक हिंसा गर्ने गरेको कारण उनी स्थानीय अधिकारकर्मीको सहायतामा कानुनी लडाँईको लागि तयार भएकी थिइन् । “अलिअलि घरायसी व्यस्तता मिलाएर बैशाख २३–२४ गतेतिर अदालत जाने तयारी थियो, बन्दले जान पाइन” उनले भनिन् “बन्दपछि झन् झन् धेरै यातना र पीडा खेपिरहेको छु ।”
मकवानपुर जिल्ला बागमती गाउँपालिकाकी उनी एउटा प्रतिनिधि पात्र हुन् । निषेधाज्ञमा बालबालिका र महिला हिंसाको घटनाहरु घरघरमा बढेको तर, उजुरीमा भने कमी आएको अधिकारकर्मीहरुको विश्लेषण छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पनि निषेधाज्ञामा अन्य अपराधहरुको दर घटेको छ । तर, घरेलु प्रकारको हिंसा भने बढेको छ । निषेधाज्ञको कारण पीडकलाई कानुनी कारबाहीको लागि लड्न सहज छैन । अदालत र प्रहरी कार्यालय खुल्ला छ तर सवारी पाइदैन कसरी जाने ? केही समय सहेर बस्दा होला भन्दाभन्दै हिंसाको अवस्था भयावह हुने गरेको सामाजिक अभियान्तहरु बताउँछन् ।
यसै सातामा हेटौंडा–१५ की एक किशोरीमाथि बलात्कार भएको घटना प्रहरीमा दर्ता भएको छ । माइती नेपाल मकवानपुरको सहायतामा प्रहरीमा पुगेको यो घटना प्रतिनिधिमात्रै हो, यस्ता धेरै घटनाहरु बाहिरीन नसकेको प्रहरीले पनि अनुमान गरेको छ । यद्यपि प्रहरीले हटलाइनको प्रयोग गरेर हिंसा विरुद्धको उजुरी गर्नेहरुलाई आफूहरुले नियमित सेवा दिइरहेको बताएको छ ।
मकवानपुर प्रहरीमा बैशाख १७ गतेदेखि जेठ २३ गतेसम्म घरेलु हिंसा सम्बन्धी २५ वटा घटना दर्ता भएका छन् । महिला तथा बालबालिका विरुद्धमा हुने अपराध मध्ये जबरजस्ती करणीको घटना ४ वटा रहेको छ । जबरजस्ती करणीमध्ये आफ्ना आफन्तहरुको र नजिकका नातेदारहरुबाट घटनाहरु घटेका छन् ।
यस्तै निषेधाज्ञाको अवधिमा जबरजस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको छ । यस्तै कतव्र्य ज्यान मुद्दामा २ वटा घटना रहेका छन् । यो अवधिमा बालयौन दुरुपयोग १ र सबैभन्दा बढि घरेलु हिंसाको ११ वटा घटना दर्ता भएका छन् । जिल्लामा ६ जनाले निषेधाज्ञा जारी भएदेखि आत्महत्या गरेका छन् । जुन हिंसापछिको विकराल अवस्था भएको अभियन्ताहरुको ठम्याइछ ।

माइती नेपाल मकवानपुरमा निषेधाज्ञाको समयमा मात्रै ३० वटा केसहरु दर्ता भएका छन् । माइती नेपाल मकवानपुर प्रमुख माया लामाका अनुसार बन्दको कारण हिंसा बढेको छ । “नजिकका आउँछन्, टाढाकाहरुले फोन गर्छन, हामीले पनि पीडितको इच्छा अनुसार सेवा दिन सकेका छैनौं” लामाले भनिन् । “बन्द खुलेपछि आउनु, त्यतिञ्जेल आफ्नो केयर गरेर बस्नु भनेर अनुरोध गर्नु परेको छ, कति गाह्रो गरि बसिरहनुभएको होला जस्तो लाग्छ” लामाले भनिन् ।
बन्दको कारण सबै परिवार चलाउने आर्थिक अभाव भएपछि पनि झै झगडा हुने गरेको, यौन दुर्व्यवहार हुने गरेको केसहरु बढी रहेको लामाले बताइन् । “कार्यालयमा आएका उजुरीकर्ताहरुलाई पनि अहिले प्रहरीमा लैजान पनि नसकेका र परामर्श दिएर पठाउनु परेको लामाले बताइन् । माइती नेपाल मकवानपुर प्रमुख लामाका अनुसार दैनिक ३/४ जनाले आफू हिंसामा परेकोले उद्वार गर्नु भन्दै फोन गर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा चालु आर्थिक वर्षमा २ सय ३९ घरेलु हिंसाको मुद्दा दर्ता भएको थियो । घरेलु हिंसामा सबैभन्दा बढि श्रीमान् श्रीमतीको झगडाको विषय रहेको प्रहरी निरीक्षक चुडा कुमारी खड्काले जानकारी दिईन् । त्यसैगरी जवरजस्तीकरणीको घटना ५३, जवरजस्तीकरणी उद्योग ५, कर्तव्य ज्यान ४, बोक्सीको आरोप १, आत्महत्या ५८ ,बालयौन दुरुपयोग ६, बहुविवाहको ८ वटा घटना दर्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएका घटनाहरु मध्ये अधिकांश घटनाहरु गम्भिर प्रकृतीका मात्रै रहेका छन् । निषेधाज्ञाको समयमा परिवारका सदस्यहरु घर मै हुने गरेकोले साना प्रकृतीका घटना घरमै मिल्ने गरेका छन् ।
ठुला घटनाहरु पनि प्रहरीसम्म नआउँदा पनि घटनामा कमी आएको देखिन्छ । प्रहरी निरीक्षक खड्काले भनिन ‘जिल्लामा संख्यात्मक रुपमा घटनामा कमि आएता पनि न्यायालयसम्म आउन नसक्ने पाटोलाई गम्भिर रुपमा लिनुपर्ने देखिन्छ ।
पछिल्लो समय घरेलु हिंसा हुनुमा मद्यपान सेवन गरेर हुने हिंसा, कुटपिट गर्ने, घरमा आर्थिक समस्या हुने, शंकाको आधारमा दम्पत्ती विच हुने झगडाले हिंसा बढ्ने गरेको छ ।’ प्रहरी निरीक्षक खड्काले जस्तो सुकै घरेलु हिंसा घटनामा तुरुन्तै ‘एक्सन’ लिने गरि प्रहरीले टोली खटाउने गरेको बताईन् । उनले हिंसा घटाउन प्रचारात्मक सामग्रीहरु सामाजिक सञ्जाल, पोष्टर, पम्पलेट टाँसेर जनचेतना जगाईरहेका जानकारी दिईन् । बन्दको कारण प्रहरीमा आउने घटना भने ह्वात्तै घटेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार जिल्लामा निषेधाज्ञापछि हिंसाको घटना उजुरीको दर ५० प्रतिशतले कमी आएको छ । निषेधाज्ञा हुनुअघि चैत एक महिनामा ४४ वटा घरेलु हिंसा, १० वटा जवरजस्तीकरणी र एउटा बहुविवाहको मुद्वा दर्ता भएको थियो । आधा महिनादेखि निषेधाज्ञा लागू भएको वैशाखमा घरेलु हिंसाको मुद्दा दर्ता गर्ने संख्या आधाले घटेर २१ मा झरेको छ,जबरजस्तीकरणीको मुद्दा ६ वटा मात्रै परेको छ । यी मुद्दा पनि अधिकांश वैशाख १९ गते निषेधाज्ञा हुनुअघि परेको हो। त्यस्तैगरी जेठ महिनाको २० गतेसम्म ४ वटा मात्रै घरेलु हिंसा परेको छ भने ३ वटा जबरजस्तीकरणीको घटना प्रहरीकोमा आइपुगेको छ ।
निषेधाज्ञामा महिला हिंसा बढेको अधिवक्ता अप्सरा बस्नेत बताइन् । “प्रहरी कार्यालय तथा अदालतमा उजुरी गर्न सक्ने छन् भनिएको छ तर यातायात नचलेको कारण हिंसा पिडित दिदीबहिनीहरु उजुरी गर्न आउन सक्ने अबस्था नहुदा सबै सहेर बस्न बाध्य भएका छन्” अधिवक्ता बस्नेतले भनिन् “मलाई कुटपिट भयो, ज्यान मार्ने धम्कि दिन्छन, यौन हिंसा भयो सहेर बस्न सक्दिन सम्बन्ध बिच्छेद गर्नु प¥यो लौ न कहिले खुल्ने हो सहयोग गर्नुस भन्दै फोन आउँछ, बन्दको कारण सबै समस्या भएको छ” जिल्ला कानुन सहायता समिति संयोजक अधिवक्ता बस्नेतले भनिन् ।
मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकका अनुसार निषेधाज्ञमा हिंसा भएको भन्दै केही पुरुषहरुले पनि सहयोग माग्ने गरेका छन् । उजुरीको लागि सम्बन्धित निकायमा आउन नसकेको कारण समस्या भएको अध्यक्ष पाठकले बताइन्। गाउँ छिमेकमा थाहा नहुने गरी सहयोग गरिदिन अनुरोध गर्ने गरेको उनले बताइन् ।
सामान्य अवस्थामा आफैं काम गरेर बिहान बेलुकाको खाना जुटाउने गरेका महिलाहरुलाई अहिले त्यो जुटाउन नसक्दा घरमा हिंसा बेढेको पाठकले बताइन् । “काम गर्न जान नपाएपछि घर खर्च चलाउन गाह्रो भएको छ, श्रीमानसँग पैसा मागेको निहुमा सुरु भएका हिंसाले ठुलो रुप लिने गरेको छ” उले भनिन् । सरकारी तथा गैरसरकारी निकायमा तथ्याङ्क हेर्दा हिंसा घटेको जस्तो देखिए पनि यो वास्तविकता नभएको मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष पाठकले बताइन् ।