मकवानपुर / कोरोना महामारीको कारण जारी निषेधाज्ञाको निशानामा बालबालिकाहरु परेका छन्। एकातिर विद्यालयहरु बन्द, अर्कोतिर घरभित्रको अभाव र हिंसाको कारणबाट बालिबालिकाहरु शिकार हुने गरेका हुन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरका अनुसार निषेधाज्ञाको समयमा बालबालिका सम्बन्धी घटनाहरु बढेका छन् । सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीका अनुसार निषेधाज्ञामा बालबालिकाहरुमाथि हिंसा तथा बालविवाह बढेको छ । घरेलु हिंसाको कारण पनि बालविवाह बढेको ज्ञावलीको भनाई छ ।
निषेधाज्ञाको समयमा मात्रै ८ वटा बालविवाहको घटनाहरु भएको सिविनले जनाएको छ । ति मध्ये केही बालिकाहरुलाई सिविनले अहिले पनि आश्रय दिंदै आएको छ । विद्यालय बन्द भएको समयमा बालबालिकाहरुमाथि हिंसा बढी हुने गरेको ज्ञावलीले बताए । सामान्य अवस्थामा अर्थात १ साउन २०७७ देखि २० वैशाख २०७८ सम्म (१० महिनाको अवधिमा) ४८ वटा बाल विवाहका घटनाहरु सिविनको पहलमा रोकिएको थियो ।
निषेधाज्ञा सुरु भएको १ महिनाको अवधिमा मात्रै ८ वटा घटना सार्वजनिक भएको छ । ८ वटाै घटनाहरु सिविनको पहलमा रोकिएको बताइएको छ । पछिल्लो पटक साेमबार मकवानपुरगढी गाउँपालिकामा बालविवाहको तयारीमा रहेको घटना राेकिएकाे सिविनले जनाएको छ । ‘याे साता मात्रै ३ वटा बालविवाह सम्वन्धी घटना राेकियाे’ ज्ञवालीले भने । परिवारीक आर्थिक अवस्था बिग्रेपछि घरेलु हिंसा बढेको र यसको प्रत्यक्ष असर बालबालिकामा परेको ज्ञावलीले बताए । ‘यो विषम परिस्थितीमा बालबालिबाहरु आफूखुसी विवाह गर्ने क्रम पनि बढेको छ’ उनले भने ।
विगत १० महिनामा ११ जना बालबालिकाहरु बेपत्ता भएका थिए भने निषेधाज्ञाको समयमा मात्रै ६ जना बालबालिकाहरु बेपत्ता भएको तथ्याङ्कले देखाएको छ । यो बिचमा २ जना बालबालिकामाथि दुव्र्यवहार भएको सिविनमा दर्ता भएको छ । निषेधाज्ञाको समयमा मकवानपुरमा बालबालिबासम्बन्धी १९ वटा घटना भएका छन् ।
पछिल्लो समय घरेलु हिंसा हुनुमा मद्यपान सेवन गरेर हुने हिंसा, कुटपिट गर्ने, घरमा आर्थिक समस्या हुने, शंकाको आधारमा दम्पत्ती विच हुने झगडाले बालबालिकाहरु शिकार हुने गरेका छन्।निषेधाज्ञको समय जारी रहेको भएपनि जस्तो सुकै घरेलु हिंसा घटनामा तुरुन्तै ‘एक्सन’ लिने गरि प्रहरीले टोली खटाउने जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक चुडाकुमारी खड्काले बताइन् ।