नेपालको राष्ट्रिय फुटबल टिम फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोटमा अस्ट्रेलियासँग पराजित भएको छ । संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा अस्ट्रेलियासँग नेपाल ३-० गोल अन्तरले पराजित भएको हो ।
अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो । पहिलो हाफको ४५औ मिनेटमा नेपाली खेलाडी रोहित चन्दले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो । कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा पहिलो हाफमा अस्ट्रेलियाले खेलको छैटौ र ३८औ मिनेटमा १/१ एक गोल गरेको थियो भने दोस्रो हाफको ५७औ मिनेटमा तेस्रो गोल गरेको थियो ।
विश्वकपको छनौट अन्तर्गतनै नेपालले २०१९ मा अस्ट्रेलियाविरुद्ध ५-० को हार बेहोरेको थियो । योसँगै नेपालले विश्वकपको छनौट खेलमा ८ खेलमा ६ खेलमा हार र २ खेलमा जितसहित ६ अंकसहित आफ्नो यात्रा टुंगाएको छ । फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ ।
अष्ट्रेलियाविरुद्ध नेपालका ३ युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
यसैगरी अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रतिक्रिया दिएका छन् । नेपाल अष्ट्रेलियासँग पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् ।