मकवानपुर । हेटाैडा २ मा संचालनमा रहेकाे पल्पसा आइसोलेशन सेन्टरमा सोमबारसम्ममा ६ जना काेराेना संक्रमित रहेका छन् । संक्रमित मध्ये ४ जना महिला र २ जना पुरुष रहेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको व्यवस्थापनमा संचालनमा अाएकाे आइसोलेशन सेन्टरमा १ जना डाक्टरले दैनिक संक्रमितकाे निरीक्षण तथा ४ जना नर्सले २४ घण्टा सेवा दिइएकाे संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
पल्पसा आइसोलेशन सेन्टरमा कोभिड संक्रमित महिला र पुरुषको लागि छुट्टाछुट्टै बेडको व्यवस्था, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, २४ घण्टा नर्स र बिहान बेलुका डाक्टरको निरीक्षण, नुहाउनको लागि तातोपानी, वाईफाई, टिभी, खाना तथा नास्ता, औषधी आदिको निःशुल्क व्यवस्था रहेको छ । पल्पसा परिसरमा एउटा एम्बुलेन्सको २४ घण्टा सुविधा पनि रहेको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित एम्बुलेन्स संक्रमितको सुविधाको लागि राखिएको हो ।
यसै गरी सोमबार पल्पसा आइसोलेशन सेन्टरको निरीक्षण गरिएकाे छ । प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, क्षयरोग तथा कुष्टरोग निरीक्षक ठाकुर पौडेल र जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले आइसोलेशन सेन्टरको निरीक्षण गरेका हुन् ।
यस्तै सोमबार ३८ जना कोभिड संक्रमितहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरबाट सम्पर्क गरि उनीहरुको अवस्थाकाे जानकारी लिइएकाे हेल्थ डेक्स सचिवालय संयाेजक कृष्ण कुमार अग्रवालले बताए । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट दैनिक फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिने गरिएकाे छ । सोमबार नै हेल्थ डेक्स मार्फत २ थान सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । हेटौंडा–१५ र हेटौंडा–३ का १/१ जनालाई अक्सिजन सिलिण्डर अक्सिजन वितरण गरिएको अग्रवालले जानकारी दिए ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार हेटौंडा–१० मा कोभिड संक्रमितको घरदैलो कार्यक्रम गरेको छ । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा हेटौंडा–१० का वडा सदस्य धर्म बस्नेत, हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठ, मउवासंघका कार्यसमिति सदस्य सुनिल अधिकारी, समाजसेवी केदार प्रसाद न्यौपानेलगायतको घरदैलो कार्यक्रममा उपस्थिति रहेको थियो ।