मकवानपुर । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएर
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएसँगै महताे उपप्रधानमन्त्री भएका छन् ।
यसै गरी शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बनेका छन् । महतो उपप्रधान सहित शहरी विकास मन्त्रीमा नियुक्त भएका छन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झा खानेपानी र कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।
यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।
जसपाबाट २ राज्यमन्त्री पनि नियुक्त भएका छन । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकार पुनर्गठन गरेका हुन् । नयाँ गठन भएको मन्त्रिपरिषदमा वर्तमान अर्थमन्त्री विष्णु पौडेल उपप्रधानसहितको अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठन गरी १७ सदस्यीय नयाँ मन्त्रिपरिषद बनाएका हुन्। उनले नयाँ बनाएको मन्त्रिपरिषदको तेस्रो बरियतामा राजेन्द्र महतो उपप्रधानमन्त्री बनेका छन् । त्यसैगरी, रघुविर महासेठ पनि उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालय दिइएको छ । नव नियुक्त मन्त्रीहरुको सपथ लिएका छन् ।
आज गठन भएको मन्त्रिपरिषदको कार्य विभाजन यसप्रकार छः
१. प्रधानमन्त्री केपी शर्मा ओली: रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
२. विष्णु पौडेल: उपप्रधानमन्त्री, अर्थ
३. राजेन्द्र महतो: उपप्रधानमन्त्री, शहरी विकास
४. रघुवीर महासेठ: उपप्रधानमन्त्री, परराष्ट्र
५. शेरबहादुर तामाङ: स्वास्थ्यमन्त्री
६. कृष्णगोपाल श्रेष्ठ: मन्त्री, शिक्षा
७. बसन्तकुमार नेम्वाङ: मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
८. लीलानाथ श्रेष्ठ: मन्त्री, कानून न्याय तथा संसदीय मामिला
९. शरतसिंह भण्डारी: मन्त्री, ऊर्जा
१०. अनिल झा: मन्त्री, खानेपानी तथा सरसफाई
११. विमल श्रीवास्तव: श्रम तथा रोजगार
१२. उमाशंकर अरगरिया: मन्त्री, वन तथा वातावरण
१३. लक्ष्मणलाल कर्ण: मन्त्री, भूमि व्यवस्था
१४. चन्दा चौधरी: मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
१५. एकवाल मियाँ: मन्त्री, युवा तथा खेलकुद
१६. चन्द्रकान्त चौधरी: राज्यमन्त्री, ऊर्जा
१७. रेणुका गुरुङ: राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
को को बाहिरिए ?
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र ३ राज्यमन्त्री बाहिरिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
को–को यथाबत ?
मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।