मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आइसोलेसन बुधबारबाट सञ्चालनमा आएकाे छ । संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको हाे ।
हेटौंडामा कोरोना संक्रमितको लागि आइसोलेसनको अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वीकृति दिए पछि बुधबारबाट आइसोलेसन सञ्चालनमा ल्याइएको हो । बुधबार बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले पल्पसा आइसोलेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा नेता बानियाँले सरकार पद र सत्ताको लागि परेकाे बताए । ‘अहिलेकाे काेराेना सक्रमणबाट जनतालाई जोगाउनु पर्ने समयमा सरकार आफु बच्न लागि रहेकाे छ’ बानियाले भने । उनले ३ महिना भित्र सबै जनतालाई खोप लगाउनकाे लागि सरकारलाई खबरदारी गरेका छन् ।
आइसोलेसनमा अक्सिजन सहित पूरुषको लागि २० वटा र महिलाको लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको छ। डेक्सले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आइरहेको छ । आइसोलेशनको लागि झुल, तकिया, टेलिभिजन, इन्टरनेटसहित नुहाउनको लागि चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताए । अब ईच्छुक संक्रमित आउन वा संक्रमितको परिवारले पल्पसा आइसोलेशनमा संक्रमितहरुलाई ल्याउन सक्ने श्रेष्ठले जनाकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई, नारायणी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सोमेन्द्र सिं राठौर, हेल्प डेस्कका पदाधिकारी, मउवा संघका पदाधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुखले पल्पसा आइसोलेशन सेन्टरकाे मंगलबार अवलोकन गरेका थिए । कोभिड हेल्प डेस्क मकवानपुरका स्वास्थ्यकर्मीसहितको टिमले पल्पसा आइसोलेशन सेन्टर प्रभावकारीरुपमा संचालन गर्न मंगलबार गौरीटार आइसोलेशनको अवलोकन समेत गरेको थियाे ।
मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रुपकराज दहालले कोभिड हेल्प डेस्क मकवानपुरलाई अक्सिजन सिलिण्डरको लागि दुईथान रेगुलेटर सहयोग गरेका छन् । कोभिड हेल्प डेक्स सचिवालयबाट दैनिक फोन सम्पर्कमार्फत काेराेना संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने कार्य भइरहेकाे छ ।