मकवानपुर / बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले ल्याउन लागेको बजेट कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।
आइतबारबाट सुरु भएको बजेट अधिवेशनको दोस्रो दिन सोमबार विपक्षिदलका नेताहरुले प्रदेश सरकारले ल्याउन लागेको बजेट “फेल” गराउन आफूहरुको मुख्य भूमिका हुने बताए । सोमबार प्रदेशसभाको आठौँ अधिवेशनमा बोल्दै प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका नेता जम्मकट्टेलले प्रदेशसभा विघटन गरे पनि बजेट पास हुन नदिने चेतावनी दिए ।
ओली सरकारलाई लक्ष्यित गर्दै उनले भने “सत्तामा बसिनै रहनु पर्ने हो, जसरी पनि बस्नै पर्ने हो ?” नेता जमकट्टेलले भने “दुनियाँ मजाकमा उडाएर सत्तामा टाँस्सीरहने ?” उनले ओली सरकार गणतन्त्र विरोध भएको जिकिर गरे । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा योजना प्रस्तुतीको पुर्व तयारी हुदैं गर्दा विपक्षि दलका नेता जमकट्टेलले यस्तो बताएका हुन् ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट समावेशीता र आवश्यकताको आधारमा नआउने निश्चित भएको भन्दै यस्तो जिकिर गरेका थिए । “मनोमानी रुपमा ल्याइने बजेटमा हामी साक्षि किन बस्ने ?” उनले भने “प्रदेश सभा विघटन गरेर बजेट पास गर्न हामी दिंदैनौ” जमकट्टेलले भने ।
लोकप्रिय बजेट ल्याएर सस्तो नाटक गरेको उनले बताए । चुनावि रिहल्र्सन गरेको भन्दै उनले संघीय सरकारले ल्याएको जस्तो बजेट ल्याएमा प्रतिपक्षले जस्तो सुकै मुल्य चुकाएर भएपनि बजेट पास हुनै नदिने बताए । ‘बजेट ल्याउँदा अलिअलि विवाद होला, मिलाएर पास गरौँला भन्ने सोचेको हुन सक्छ। म विपक्षी दलको नेताका तर्फबाट भन्छु, जस्तो सुकै मूल्य चुकाएर पनि बजेट पास हुन दिदैनौँ,’ जम्मकट्टेलले भने, ‘तपाईंहरूले कसरी बजेट ल्याउनु हुन्छ मलाई थाहा छ,नीति तथा कार्यक्रम तयार भइसक्यो । मन्त्रिपरिषद्बाटै पास हुन बाँकी छ । अब नयाँ योजना नो इन्ट्री भनिएको छ, कुनै हालतमा बजेट पास हुन दिदैनौँ ।’
पूर्वमन्त्री जम्मकट्टेलले समावेशीता र आवश्यकताका आधारमा बगमती प्रदेश सरकारले बजेट ल्याउने छाँटकाँट नदेखिएको भन्दै नीति परिवर्तनको विकल्प नभएको धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै लाइन बागमतीमा देखिएकोले बजेटको विषयमा प्रश्न उठ्दा र हाउस नचलेपछि प्रदेशसभा विघटन गर्ने संकेत देखिएको बताएका छन् ।
‘बागमतीमा पनि प्रधानमन्त्री केपी ओलीकै लाइनमा छ । बजेटमाथि प्रश्न उठेपछि र हाउस नचलेपछि विघटन गर्नुहुन्छ । तर, पनि बजेट पास हुनेवाला छैन, हामीलाई आपत्ति पनि छैन, जनतामै जाने हो,’ उनले भने ।
प्रदेशसभा विघटन गरे प्रतिवाद गर्ने ठाउँ सडक र जनता भएकोले त्यहीँ गएर संघर्ष गर्ने उनको भनाइ छ । नेता जम्मकट्टेलले प्रदेशको नीति तथा योजना आयोगले केही काम नगरेको भन्दै सुझाव मात्रै माग गरेको बताए । ‘पहिल्यै नीति तथा कार्यक्रम तयार पारेर हामीसँग सुझाव मागिएको छ । बिनाअर्थको सुझाव मागेर हामीसँग आयोगले ठट्टा गरेको छ,’ उनले भनेका छन् ।
यसैगरी सदस्य अष्टलक्ष्मी शाक्यले लोकतन्त्र बलियो हुनु पर्ने बेलोमा धरापमा पर्दा पनि सरकार आफ्नो स्वार्थकै पछाडि लागेको बताइन् । “संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी मजबुत बनाउने भन्नेमा हामी किन लाग्दैनौ, संविधान नै धुजा धुजा बनाउन किन लागेका छौ, जनताको छलफल चलाउने थलो प्रतिनिधि सभा नहुदा हामीले हाम्रो जिम्मेवारी कसरी पुरा गर्ने ?” उनले भनिन् ।
कार्यक्रममा प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश सरकारको उपस्थितीबारे जनताले मुल्याङ्कन गरिरहेको बताए । संसद अधिवेशन अर्को सूचना जारी नभएसम्मको लागि स्थागित गरिएको छ ।