मकवानपुर/ मकवानपुर हेटौंडा निवासी दिनेश दाहालको उपचारार्थ अमेरिका बस्दै आएका नेपालीहरुले झण्डै ४ लाख रुपियाँ सहयोग संकलन गरेर नेपाल पठाएका छन् । दाहाल प्रतिष्ठान मकवानपुरले दिनेश दाहाल बचाउन आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेपछि अमेरिका बस्दै आएका नेपालीहरुले सहयोग प्रदान गरेका हुन् ।
उक्त अभियानबारे सहिखबर अनलाइनले सूरुदेखि नै समाचार सार्वजनिक गर्दै आएको थियो । उक्त अभियानबाट प्रभावित भइ हाल रोजगारीको शिलसिलामा अमेरिका बस्दै आएका हेटौंडा–२ निवासी जनार्दन कडेलको अगुवाइमा अमेरिकामा बस्नुहुने नेपालीहरुले आफ्नो दैनिक खर्च कटाई रकम सङ्कलन गरेर पठाएको कंडेलले बताए ।
दाहाल प्रतिष्ठान मकवानपुर अध्यक्ष सिताराम दाहाल, दिनेश दाहालकी बहिनी रीता दाहाल समेतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको छ । एक मुस्ट ३ लाख ८९ हजार ५ सय ९५ रुपियाँ हेनपा २ निवासी बासु मैनाली मार्फत पठाइएको हो ।
हेनपा २ का वडा अध्यक्ष हरिबहादुर राउत, सदस्य रामेश्वरमान श्रेष्ठ ,वडा नम्बर ५ वडा सदस्य सरस्वती दाहाल , प्रतिष्ठान अध्यक्ष सिताराम दाहाल , सदस्य बिष्णुप्रसाद दाहाल , हेनपा २ निवासी राजाराम कडेल, उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
प्राप्त रकम हेनपा २ का वडा अध्यक्ष हरि बहादुर राउतले प्रतिष्ठानका अध्यक्ष दाहाललाई हस्तान्तरण गरेका छन् । ‘आफ्नो घर परिवार छोडेर टाढा रहनु भएका हाम्रा दाजुभाइ दिदीबहिनीको मन भावनात्मक हिसाबले अत्यन्तै नजिक रहेको आभाष भयो’ प्रतिष्ठान अध्यक्ष दाहालले भने ।
‘आर्थिक बिपन्नताले मेराे दाइकाे उपचार गराउन नसकी रहेको अबस्थामा रकम जम्मा गरेर पठाउनु भइ लगाउनु भएको गुन हामीले किहल्यै बिर्सन सक्ने छैनौ’ दिनेशकी बहिनी रीताले भनिन् ‘सबैलाई हार्दिक नमन छ ।’ दिनेश दाहाल बचाउ अभियानमा साथ दिएकोमा प्रतिष्ठान अध्यक्ष दाहालले पनि अमेरिका निवासी सहयोगी दाताहरुलाइ आभार प्रकट गरे ।
अमेरिका निवासी मनकारी नेपालीहरू, जसले दिनेश दाहाल बचाउन आफ्ने खर्च काटेर सहयाेग नेपाल पठाए

स्वास्थ्याेपचारमा आर्थिक समस्या भएपछी सहयाेगकाे याचना
हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी ४३ वर्षीय दिनेश दाहालको स्वास्थ्य उपचारको लागि सहयोगको याचना गरिएको थियो । क्यान्सरको कारण श्रीमती गुमाएको केही वर्षमै दिनेशलाइ नै स्वास्थ्य समस्या देखिएपछि अहिले दिनेश नै उपचारमा आर्थिक समस्यामा छन् ।
श्रीमतीको उपचारमा धेरै खर्च लागेको कारण नगद तथा जायजेथा सकेपछि बाहलमा बस्दै आएका उनी अहिले आफ्नो उपचारमा आर्थिक अभावकै कारण समस्या रहेको परिवार स्रोतले जनाएको छ । कलेजोसम्बन्धी समस्या (लिभर शिरोसिस) को कारण पेटमा पानी जमेर समस्या भएकोले तत्काल उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
‘पछिल्लो समयको रिपोर्टले आशा जगाएको छ, मनकारीहरुको सहयोगले जीवन पाउने आशा छ’ बहिनी रीताले सहीखबरसँग भनिन् । हालसम्म उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च भएको र अबको आर्थिक अवस्था नै कमजोर भएपछि सहयोग माग्नु भन्दा कुनै विकल्पै नरहेको परिवारका सदस्यले जनाएका छन् ।
दाहाल प्रतिष्ठानले यस अघि ९४ हजार आर्थिक सहयोग संकलन गरेर दिनेशको परिवारलाई प्रदान गरिसकेको छ ।
याे पनि पढ्नुहाेस
मनकारीको सहयोगपछि अस्पताल पुगे दाहाल