मकवानपुर । नेपालकाे संविधान लागू भए पछी सरकारले पहिलाे पटक अध्यादेश मार्फत बजेट ल्याउने भएकाे छ । संविधान अनुसार प्रत्येक वर्ष जेठ १ गते राष्ट्रपतिबाट दुवै सदनकाे संयुक्त वैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत हुनु पर्ने साेही आधारमा सरकारले जेठ १५ भित्र आगामी आर्थिक वर्षकाे वजेट ल्याउनु पर्ने व्यस्वस्था रहेकाे छ ।
तर राष्ट्रपतिबाट मन्त्रिपरिषदकाे सिफारिसमा जेठ ८ गते संसद विघटन गरी मध्यावधी निर्वाचन घाेषणा भएकाेले सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेकाे हाे । कामचलाउमा परिणत भएको सरकारकाे तर्फबाट शनिवार दिउसो चार बजे अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने अर्थ मन्त्रालयले जनाएकाे छ ।
नेपालको संबिधानको धारा ११९ मा बजेट सम्बन्धी व्यवस्था छ। सोही व्यवस्था बमोजिम नेपालको बजेट सार्बजनिक हुने परम्परा छ। संविधानकाे व्यवस्था अनुसार बजेट सबैभन्दा पहिले जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने संसदमा प्रस्तुत गर्नु पर्ने हाे। तर बजेट प्रस्तुत हुने बेलामा भने मुलुक प्रतिनिधी सभा विघटन भएकाे छ । साे सम्वन्धि मुद्दा सर्वाेच्च अदालतमा वहस पैरवीकाे क्रममा रहेकाेले यस पटक बजेट नियमित प्रक्रिया मार्फत नभई अध्यादेश मार्फत ल्याउने तयारी सरकारले गरेकाे छ।
हुन त यस अघि पनि मुलुकमा पटक पटक अध्यादेश मार्फत बजेट आएका प्रशस्त उदाहरण छन्। यस भन्दा अघि २०५२, २०५९, २०६०, २०६१, २०६२, २०६७ र २०६९ मा समेत अध्यादेश मार्फत नै बजेट आएका हुन्। तर नेपालले नयाँ संविधान प्राप्त गरेपछि भने यो नै पहिलो अध्यादेशबाट आउने बजेट हुने छ। यस अघि आर्थिक वर्ष २०७०/७१ मा अध्यादेश मार्फत बजेट आएको थियो। उक्त वर्ष संविधान निर्माण हुन नसकेकै कारण संसद विघटन भएको थियो। जसका कारण मन्त्रिपरिषद मार्फत मुलुक अघि बढेको बेलामा खिलराज रेग्मीको पालमा अध्यादेश मार्फत बजेट आएको हो।
संविधान आए लगत्तै बजेट ल्याउने अर्थ मन्त्री पनि विष्णु प्रसाद पौडेल नै रहेका थिए। उनले नयाँ संविधान आएपछि पहिलो पटक आर्थिक वर्ष २०७३/७४ को बजेट संसदमा प्रस्तुत गरेका थिए भने उनै विष्णु प्रसाद पौडेलले पुन बजेट प्रस्तुत गर्दै छन्। तर यस पटक भने उनले प्रधानमन्त्री कार्यालय सिहदरबारबाट बजेट प्रस्तुत गर्ने छन्।
नेपालमा वि.सं. २००८ सालदेखि बजेट प्रणालीको सुरुवात भएको हो । नेपालमा वि.सं. २००८ साल माघ २१ गते तत्कालीन प्र.म. मातृकाप्रसाद कोइरालाको पालामा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरबाट सर्वप्रथम बजेट प्रस्तुत गरिएको थियो। त्यही वर्षदेखि हरेक आर्थिक वर्षको आय व्यको अनुमान सहितको बजेट प्रस्तुत हुँदै आएको छ। सुरुवाती समयमा बजेट राजपरिवार भित्रमै सीमित हुने गर्थ्यो। पहिलो बजेटको आकार जम्मा जम्मी ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो।
शनिवार प्रस्तुत हुने बजेट ७५ औ बजेट हो। बजेट प्रस्तुत गर्न थालेको वर्षलाई गणना गर्ने हो भने २००८ साल देखि ७८ साल सम्म ७० वर्ष हुन्छ। तर यो बजेट भने ७५ औ बजेट हो। कुनै वर्ष वर्षमा दुई पटक सम्म बजेट आएका कारण यो ७५ औ बजेट हुन गएको हो।