मकवानपुर । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा तिथिमा बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मुत्यु भएकाेले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । त्यसै तिथि अनुसार आज २५६५ औँ बुद्ध जयन्ती परेकाे छ ।
देशभर मनाइँदैछ अाएकाे बुद्ध जयन्ती यस पटक कोरोना संक्रमणकाे कारण जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा भीडभाड नगरी सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि गरेर मनाइदै छ ।
यसैबीच २५६५ औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गाणेश प्रसाद तिमिल्सिना लगायतले शुभकामना व्यक्त गरेका छन् ।
गौतम बुद्ध आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर हिँडेका थिए ।
उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए । उनका भनाइहरू अष्ट मार्गकाे रूपमा अहिले पनि उत्तिकै महत्वपूर्ण रहेकाे छ ।