- गीताश्री शर्मा
हो ! म त्यही पीपलको बिरुवा हुँ
जो, ढुङ्गाको कापबाट चेप्टिएर
उकुश मुकुश भई संसार हेर्ने
उत्कृट इच्छा लिएर
शिर निकालेको मात्र के थिएँ
मेरा हात र शिरसँगै तानिंएँ छु
अनि इलामे झार र उन्युसँगै
म बञ्जर धरामा बजारिन पुगेंछु
रातको शीत र पवित्र पवनको काख
पाएर फेरि यस बञ्जर र निर्जीव
भूमिमा पुनर्जन्म लिएँ !
पालुवाको रूप फेर्दै, नयाँ ढाँचामा
अर्को जन्म भएको महसुस् गरें ,
सुनौलो संसारको अनुभव आभास पाएँ ।
अचानक एक दिन मलाई
दोबाटोमा बसाइँ सारियो,
ढुङ्गा माटो पन्साएर खाडलको
सानो झोपडीमा राखियो
मैलै केही आनन्दको जीवन महशुश गरेँ ।
बाटो हिँड्नेहरूको ठोकर सहेर पनि टेकिंदै ,
चुँडिदै अनि घरि घरि टुप्पा निमोठिंदै
मुस्किलले पह्लाएका मुनाहरूलाई
दह्रो बनाउँदै म अब त निकै
पूजिन योग्य भएर पातहरू लिएर
झाँगिएकी छु , फस्टाएकी छु ।
चराचुरुङ्गीहरू आएर सैसैला खेल्छन् ,
माया पीरति लाउँछन् , घर बनाउँछन् ,
अनि जयजन्म गराउँछन् ।
तर ! लाजै बिना गलहत्याउँदै
हिंड्ने बटुवाहरूको पनि म
शीतलता दिने छहारी भएकी छु
भारी बिसाउने भरियाहरूको म
चौतारी बनेकी छु,
एउटी आमा सरह बनेर मैले
शीतलता र शोभा दिएकी छु ।
हिजो मलाई टेक्दै,च्यात्दै
हिंड्नेहरूको काख भएकी छु ,
चुनाव हारेर लखतरान भएका
तथाकथित नेताहरूका
ढल्किने शिरानी भएकी छु ,
मनलाई शान्तवना दिने चौतारी भएकी छु ,
हिजो मलाई च्यातेर फ्याँक्नेहरूका निम्ति
सत्यनारायण पूजामा चढाउने पाती भएकी छु !
मेरै गोडामा साष्टाङ्ग दण्डवत गर्ने
पवित्र बर-पीपलकी देवी-देवता बनेकी छु ,
अनि मलाई घरि घरि
वर र पर तल र माथि बसाइँ सार्नेहरू नै
प्रातःकालमा शुद्ध शरीर लिएर
मेरो बलिष्ठ र पवित्र शरीरमा
शुद्ध हातले कातेको धागो बाँधेर
शान्ति र सुरक्षाको कामना राख्ने
आस्था भएकी छु ।
म पनि , पुराना छल-कपट,
रीस-राग, दुश्मनी-दोस्ती
सबै बिर्सिदिएर तथास्तु !
चिताएको, आँटेको र ताकेको
सबै सबै पूरा होस् भनिदिन्छु ।
र अन्त्यमा यति चाहिँ पक्कै भनिदिन्छु –
स्वार्थी, निष्ठुरी, पापी , द्रोही ,
लोभी र कन्टक कदापि नहुनू ,
छेउको सियो घुमेर बीचमा
एकदिन अवश्य आइपुग्छ
संसारको नियम र विधान नै यस्तै छ ।
गान्तोक, सिक्किम, भारत