- सीता रेग्मी
दिनभरी घरमा बस्दा बस्दा दिक्क भएपछि साँझ तिर मुखमा मास्क लगाई हातमा सेनिटाईजर बोकी सुटुक्क घरबाट बाहिर निस्केँ। बाबुराम मामाको घर नजिक पुग्दा कसैले बोलाए झै लाग्यो। फर्केर हेरेँ, मामाकी कान्छी बुहारी रहिछिन्। नजिकै भए पनि उनीसँग खासै बोलचाल थिएन, किन बोलाईन् म अलमलमा परेँ।तै पनि रोकिएँ उनी नजिकै आईन्।
“हेर्नोस् न भर्खरै फोन आयो हस्पिटलबाट दाईलाई….” उनी बोल्नै सकिनन्।
“के भो दाईलाई?” म आत्तिएँ।
“दाई त सकिनु भो रे!” उनी भक्कानिईन्।
मलाई विश्वाशै लागेन उनैको मोबाईलमा भर्खरै आएको नम्बरमा पुनः फोन गरेँ। साँच्चै रहेछ, चार दिन देखि कोभिडको उपचार भैरहेकोमा आज मृत्यु भएको रहेछ। म पनि निः शब्द भएँ।
“बुवा माथी पुजा गर्दै हुनुहुन्छ म कसरी भनुँ तपाई भन्दिनुन!” उनले रुदै भनिन्। मैले हुन्छ त भने तर सिधै बाउलाई छोराको मृत्युको खबर सुनाउन आँट आएन, अलि पर रहेका उनका दाजुलाई त्यो दुखद खबर सुनाएर सिधै घर आएँ।घरमा पनि सुनाएँ, सबैलाई सचेत पनि गराएँ।
तर आफू भित्रको छटपटी शान्त हुनै सकेन फेरि लागेँ उतै तिर। बाबुराम मामाको घरमा पुगेँ, कोठाको ढोका बाहिरैबाट सबै तिर नजर घुमाएँ, एउटा कोठामा मामा अर्धचेतन अवस्थामा मेरो बाबु भनिरहेका थिए।अर्को तिर माईजु बेहोस थिईन्।अर्को कोठामा बुहारि काखमा दुधे बालक लिएर टोलाई रहेकी थिईन्, सान्त्वना दिने, सम्झाउने बुझाउने कोही देखिएनन्।
मैले पनि त्यहाँ बसिराख्नु उचित ठानिन मुखमा अर्को मास्क थपेँ, गोजीको सेनिटाईजर हातमा दल्दै त्यहाँबाट बाहिरिएँ।
सुन्दरहैँचा मोरङ