मकवानपुर/ प्लान नेपालको आर्थिक सहयोग तथा ग्रामिण महिला सेवा केन्द्रद्वारा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तरगत बाल बालिकाको सर्वपक्षिय हितको बारेमा अन्तर संवाद गरिएको छ ।
समुदायमा सञ्चालित हानिकारक परम्परागत अभ्यासलाई कसरी सच्याउने भन्नेबारे गाउँपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखाका प्रमुखहरु, धर्म गुरुहरु बालक्लबका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थितीमा बालविवाह, महिनावारी लगायतको सवालमा संवाद गरिएको हो । मकवानपुरगढी अन्तरगत भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमगाईं, प्रवक्ता तथा वडा अध्यक्ष भागवत घिमिरे, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुखलगायतसँग सरोकारवालाहरुले सवाल गरेको कार्यक्रमको सामुदायिक सहजकर्ता शारदा बञ्जराले बताइन् ।
कार्यक्रममा हिन्दु, क्रिश्चियन, बौद्धलगायतका धर्मगुरुहरुसँग महिनावारीमा हुने छुवाछुत, बालविवाहबारेको गलत अभ्यासमा धार्मिक पाटो के छ भन्नेबारे बालिकाहरुले जिज्ञासा राखेका थिए। बालअधिकारकर्मी प्रकाश खतिवडाले सहजिकरण गरेको कार्यक्रममा किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक हानिकार परम्परागत अभ्यासलाई सच्याउन स्थानीय सरकारले के गर्दै छ भन्ने प्रश्न गरेका थिए ।
किशोरीहरुको प्रश्नलाई गाउँपालिका अध्यक्ष विदुर हुमगाईं, पवक्त तथा वडा ३ का अध्यक्ष भागवत घिमिरे, बखान सिं पाख्रिन, शिक्षा शाखा प्रमुख राम घलान तामाङलगायतले सम्बोधन गरेका थिए।गाउँपालिका बालमैत्री घोषणाको तयारीमा रहेको र बालमैत्री स्थानीय तह घोषणा भएपछि धेरै प्रकारको सवालहरुको सम्बोधन हुने अध्यक्ष विदुर हुमगाँईंले बताए ।
महिनावारी बार्ने गर्नुको धार्मिक कारणबारे गरेको सवालमा बौद्धधर्म गुरु पृथ्वीबहादुर दोङ तामाङले गौतमबुद्धको पालादेखि चलेको हो, तर शास्त्रमा नलेखिएको बताए । ‘अशुभ हुने भनेर बौद्धधर्मले मानेको छैन, जगतमाता अशुद्ध भए उनको श्रृष्टि कसरी शुभ हुन्छ, महिनावारी हुनु भनेको श्रृष्टिको फूल फूल्न सुरु भएको हो, फूल अशुभ हुँदा फल कसरी शुभ हुन्छ ?’ धर्मगुरु तामाङले भने।
यसैगरी क्रिश्चियनमा महिनावारीमा नारीलाई संरक्षण गर्नको लागि परसारिएको तर छुवाछुत नगरिएको धर्मगुरु शंकर अधिकारीले बताए । कार्यक्रममा स्कुलबाट ड्रपआउट भएका सबै जसो बालबालिकाको बालविवाह भएको मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलान तामाङले बताए । स्थानीय सरकारसंग बालबालिकाहरुको सवालबारे कार्यक्रम गर्दै धेरै उपलब्धिपुर्ण निचोडमा पुग्न सकिएको केन्द्रकी कोषाध्यक्ष सुलोचना स्याङ्तानले बताइन्।
गाउँपालिकाभित्र हालैमात्रै जनता माविको कक्षा १० मा अध्ययनरत ३ जना छात्राहरुले भागि विवाह गरेको घटना स्मरण गर्दै उनले भने, ‘स्वयम बालबालिकाहरुमा सचेतनाको कार्यक्रम अत्यावश्यक देखिएको छ ।’ छात्रवृतिलगायतको कार्यक्रमहरुले यि समस्यालाई न्यूनिकरण हुने उनले बताए ।
बालबालिका, किशोरीहरुको सवालमा पैरवि, सहकार्यलगायतको कार्यमा ग्रामिण महिला सेवा केन्द्र लागिपरेको कार्यक्रम संयोजक दीपक न्यौपानेले बताए । हाल संवाहकको रुपमा १ हजार २ सय बालबालिकाहरु प्रत्यक्ष लाभान्वित भएको कार्यक्रम संयोजक न्यौपानेले बताए ।