मकवानपुर / बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएकाे हाे ।
प्रशिक्षणको क्रममा प्रयोग गर्दा सक्कली हतियार बिग्रने, फुटेर काम नलाग्ने हुँदा डमि हतियार प्रयोग गर्न लागिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ अनुसार पाँचसय थान काठको डमी हतियार तयार पारिने भएको हो ।

वाग्मती प्रदेश अन्तर्गतका प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाइमा काठको हतियार वितरण गरी प्रयोग गरिनेछ । प्रदेश प्रहरी कार्यालयको आन्तरिक स्रोत साधन तथा कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण गरिएको छ ।
सक्कली हतियारकै तौल र आकारमा निर्माण गरी वाग्मती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने इकाइ प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले हस्तान्तरण गरेका छन् । कान्तिपुरकाे सहयाेगमा