मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले बैशाख ३१ गते बिहानबाट निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोभिड १९ को सङ्क्रमणबाट हुनसक्ने थप जोखिमलाई मध्यनजर भोलि बैशाख ३१ गते बिहान देखि अर्को निर्णय नभएसम्म निषेधाज्ञा जारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक घरबाट हिडडुल गर्न नपाईने तथा गाउँपालिका भित्र सवारी साधन आवतजावत बन्द हुनेछन् । गाउँपालिकाकाे समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने अध्यक्ष मल्लले बताए । गाउँपालिका प्रवेशका मुख्य नाकाहरु मनहरी-चैनपुर सडक, नेवारपानी-कोलगैरी सडक, सिम्पानी-सरिखेत सडक, भण्डारा-खर्खडेटारकाँकडा सडक र खरङ्गा-भाटी सडकबाट हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतहरु बन्द हुने भएकाे छ ।
गाँउपालिका क्षेत्र भित्र सार्वजनिक स्थलहरुमा अनावश्यक हिडडुल गर्न, सार्वजनिक कार्यक्रम, सभा समारोह, बिहे, भोजभतेर, गासा, छेवर, जात्रा, मेला, महोत्सव, हाटबजार संचालन आदि कार्यहरु गर्न/गराउन पूर्णरुपमा निषेध गरिएको समेत मल्लले बताए । स्थानीय गौरवका आयोजनाहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरि सुचारु रहने तथा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।
विषम परिस्थितिमा उल्लेखित निर्णयहरु, जनस्वास्थ्यका मापदण्ड एवं नेपाल सरकारबाट जारी सम्पूर्ण निर्देशनहरुको पालना गर्न समेत गाँउपालिकाले आग्रह गरेकाे छ।
