मकवानपुर । मकवानपुरकाे ३ स्थानीय तहमा पूर्ण र १ स्थानीय तहमा जारी निषेधाज्ञा कडा गरिने भएकाे छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाँउपालिका बजार क्षेत्रमा निषेधाज्ञाको लागु हुँदा पनि चहलपहल बढेकाेले जिल्ला प्रशासन कार्यालयले साेमबार बैशाख २७ गतेबाट अझ कडाई गर्ने भएको हो ।
अहिले काेराेना संक्रमणकाे अवस्था गम्भिर बन्दै गएकोमा जनताले प्रशासनलाई साथ नदिए स्थिती झन कडा हुने प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले बताए । निषेधाज्ञा उल्लघन गरी सवारी साधन चलाएकाे पाइएमा सवारी साधन होल्ड गरिने पाण्डेले बताए । उनले अतिआवश्यक नभई घरबाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह समेत गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यलय मकवानपुरले सूचना जारी गरी निषेधाज्ञाका बाबजुद बिहान र बेलुका बाहिर मानिसहरूको भिडभाड देखिएको हुँदा औषधी उपचार र तोकिएको समयमा अत्यावश्यक खाद्य सामग्री खरिद गर्न बाहेक अन्य प्रयोजनका लागि बाहिर हिंडडुल नगर्न, नगराउन भनेकाे छ ।
यसै गरी अत्यावश्यक खाद्य सामग्रीहरू नजिकको स्थानीय पसलमा नै खरिद गर्न, विरामी बोकेका सवारी साधन, जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरू एवं तोकिएका सवारी साधनहरू बाहेक अन्य सवारी साधनहरू सञ्चालन नगर्न, नगराउन सबैमा अनुरोध गरेकाे छ ।सूचनाको अवज्ञा गरी अनावश्यक बाहिर हिंडडुल (पैदल वा सवारी साधनमा) गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडाभन्दा कडा कारबाही हुने प्रशासनले जनाएकाे छ ।
९० सवारी नियन्त्रणमा
यसै गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार जिल्लामा निषेधाज्ञा अटेर गरेर चलाएको ९० सवारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरीक्षक समेतको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकल तथा स्कुटर ५६ वटा, अटो १० वटा, ट्रक १५ वटा, कार २ वटा र बस ७ वटा गरी जम्मा ९० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा अटेर गरी पसल संचालन गर्ने २ जना पसल संचालकलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यरक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
