- अङ्कुर चन्द
साँझको समय अँध्यारो भइसकेको थियो । पूर्णिमा बार्दलिमा बसेर रमाइरहेकी देखेर म पनि सँगै बस्न गए । निलो आकाशमा सेता कपासका भुवाजस्ता बादलका टुक्राहरू निस्फिक्री उडिरहेका थिए । ताराहरूको चकमन्नताले आकाश सुन्दर बगैंचा जस्तै देखिरहेको थियो । जुनको आगमन अझै सुन्दर थियो ।ताराहरु एकटकले चियाइरहेका थिए । सेता बादलका टुक्राहरू पनि सुकिला भएर घरी यता घरी उता ओहोरदोहोर गरिरहेका थिए त्यहि जुनको सुन्दरता हेर्न सायद ।
यो दृश्यले मोहित भएकी पूर्णिमाले भनिन ” हेर्नु न कति सुकिला भएर यी बादलका भुवाहरु जुन हेर्न निस्किरहेका । आहा कति स्वच्छन्द छन् ,कति शान्त छन्, निष्प्रभि दौडिरहेका छन्” । मैले मनमनै भने यि सुकिलाहरु बाहिर मात्रै सुकिला हुन् भित्र त कालो पालेर बसेका हुनसक्दछन् । उनी जुन, तारा, सुकिला भुवाजस्ता बादलको बखान गर्दा गर्दै आकाशमा बलिष्ठ , कालो रूपि डरलाग्दो आकृतिको अचानक पदार्पण भयो । उनी हेर्दाहेर्दै विचलित भइन् ।
सुन्दर जुनको खोजी गरिन् , ताराहरूको खोजी गरिन् ती सुकिला सेता भुवाहरुको खोजी गरिन् । निलो आकाशको खोजी गरिन् ।अह देखिनन् । जुनको सुन्दरता र यौबन् देखेर यताउती भौतारिरहेका तिनै सुकिला सेता बादलहरू एकीकृत भई ताराहरुले नदेखुन भनी सिंगो आकाशलाई कालो कालो पर्दा ले छेकेर जूनलाई आफ्नो बाहुपासमा अठ्याएर लियो । जुन चिच्यायो होला करायो होला तर चट्याङको आवाजले निरिह बनाइदियो । बलिन्द्र आँशुका धारा चुहाइरहेको आकासकाे दृश्य हेर्दै पूर्णिमाको गहभरी आशुकाे ताल बनिसकेको थियो।
कञ्चनपुर