मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार शिलन्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले एक कार्यक्रमवीच भवन शिलन्यास गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा भवन निर्माण गर्न लागिएको हो ।
नेपाल प्रहरी समायोजन भई निकट भविश्यमा प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा उक्त भवनको निर्माण कार्य सुभारम्भ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । बागमती प्रदेश प्रहरी हाल संघ अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए ।
सिलवालका अनुसार ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड लागतमा भवन निर्माण गर्न लागिएकाे हाे । १ हजार ३ सय १८ स्क्वायर मिटरमा भवन निर्माण हुने छ । चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकाशा भएकोमा टेण्डर प्रकृया सम्पन्न गरी निर्माण कम्पनीसंग सम्झौता समेत भई निर्माण कार्य प्रारम्भ भएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका छन् । १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग प्राप्त भएकाे सिलवालले जनाकारी दिए ।