- मिसु श्रेष्ठ
“लौ अझै उठेका छैनन् ? अनलाइन क्लास छैन? ल उठ उठ! के भो ? कि सन्चो भएन?”
सिरक तान्दै निधार छामिन्।
आफ्नो भन्दा त चिसै पाइन्। बरु दुई हप्ता अघिको आफ्नो ज्वरोको प्रभाव अझै बाँकी थियो। कोरोना प्रभावको बेला एक्कासि ज्वरो आउँदा केटाकेटी पनि आत्तिएका थिए। तातोपानी ,अौषधि, जडिबुटी गरेर धन्न केटाकेटीलाई सर्न बाट जोगाएकी थिइन्।
घर प्लाष्टरको काम , जिम्मा लिएको समयमा सकाउनै पर्ने फेरि काम नगरी चारोको जोहो पनि त हुँदैन । अरबमा गएका पति फर्केर अरबपति होइएला भन्ने थियो ।पोहोर कोरोनाले भेट्टाए देखि घरिघरि `बिरामी छुँ ´ भन्छन् , फर्केर आउन पनि यता कामको मेसो देख्दैनन्।´ कुरा खेलाउदै केटाकेटीलाई हकार्न थालिन् ।
“यत्रो लकडाउनमा अामालाई सघाउलान् भनेको! उठ!”
” ममी नकराउनु न , घरको काम धन्दा त सघाएकै छौँ नि ! तपाईंलाई आराम गर्नुस् भन्दा मान्नुहुन्न । किन जान्ने भएर छिट्टै खाना पकाउनु भएको त ? आज मजदुर दिवस अनलाइन क्लास हुँदैन । त्यसैले अलि ढिला सुतेको ।
तपाईं पनि काममा जान पर्दैन हैन ?
८घण्टा काम, ८ घण्टा मनोरञ्जन , ८ घण्टा विश्राम भन्छन् ´, हाम्री आमा चाहिँ ! न विश्राम , न मनोरञ्जन ! एकछिन फुर्सद नबस्ने ।” अलिबेर आराम गरे हुने नि हामी खाना बनाइ हाल्थ्यौँ।”
खाना पस्कन थालिन्।
” हैन ममी !आज मजदुर दिवस , बिदा हुदैन र? “
“को सँग बिदा लिने छोरी?”
” ठेकेदार सँग ।”
“उनले नि दुईचार पैसा कमाइ होला कि भनी दुई तीन ठाउँ एकै पल्ट काम लिन्छन् । समयमा नसके कामबाट हात धुनु पर्ला भन्ने पीर। बिचरा घर बनाउने ठेकेदार निम्नस्तर कै त हुन् नि!”
“साहुले बिदा दिदैनन् त? “छोरीको थप जिज्ञासा ।
“साहुले आफ्नो सम्पुर्ण धन – ऋण गरेर घर बनाउछन् , कसरी बिदा देलान् र? “
” एकदिनलाई कामबाट बिदा त देलान् तर ज्याला पाइदैन । ” बेलिबिस्तार लगाउँदै गइन् –
” हाजिर गरेर तलब पाउनेलाई त बिदाको महत्त्व होला । हामी ज्याला पाउनेलाई बिदा भन्दा सजिलै काम पाउने, श्रम अनुसारको ज्याला र सहज र सुरक्षित काम गर्ने वातावरण भइदिए पुग्थ्यो नि !
दोलखा, हाल काँडाघारी काठमाडौं