मकवानपुर / बागमती प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेतले सपथ ग्रहण गरेको आज सोमबार पाँचदिन मात्रै भएको छ । कोरोनाको कहरबीच सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी बस्नेतले तत्काल गर्नै पर्ने कामको रुपमा स्वास्थ्य क्षेत्र नै पहिलो रहेकाे बताउँछिन् ।
२०१९ सालमा दोलखा गौरीशंकर गाउँपालिकामा जन्म भएकी बस्नेत विद्यार्थी उमेरबाटै राजनीतिको विभिन्न ओहोदामा नेतृत्वमा रहेकी थिइन् । शिक्षण पेशा, सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाएकी बस्नेत २०३७ सालदेखि शिक्षक संगठनसंगै अनेमसंघको गाउँ कमिटी र गाउँ पार्टी कमिटी दुबैमा कृयाशील रहिन् । उनी हाल अनेमसंघ केन्द्रीय सचिवालय सदस्य र बागमती प्रदेश अनेमसंघको सचिवमा बहाल छिन् । बस्नेत पार्टीमा गाउँ कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्यमा पनि आवद्ध भइन् । हाल प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा आवद्ध मन्त्री बस्नेत २०७१ सालमा सुकुम्बासी आयोगको दोलखा जिल्ला अध्यक्ष समेत भइसकेकी थिइन् । उनी २०७४ सालमा दोलखा जिल्लाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
कोरोना कहरको बिचमा प्रदेशको सामाजिक विकास मन्त्रालय सम्हाल्ने अवसर पाएकी मन्त्री बस्नेतसँग कोरोनाको कहरको बिचमा उच्च प्राथमिकता राखेको मुख्य ३ एजेण्डाहरु के के छन् ? मन्त्री बस्नेतसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्री:
पहिलो प्राथमिकताः
सामाजिक विकास मन्त्रालय यसै पनि ठुलो क्षेत्र ओगटेको मन्त्रालय हो । महिला बालबालिका, जेष्ठ नागरिक, अपा·ता भएकाहरु सबैलाई यसै मन्त्रालयले समेटेको छ । प्रदेशमा स्वास्थ्य मन्त्रालय नभएकोले पनि स्वास्थ्य क्षेत्र पनि यहीबाट हेर्नुपर्ने हुँदा अझै विस्तृत क्षेत्र समेटेको छ । वर्तमान अवस्था धेरै कष्टकर छ । अहिले यो प्रदेशभन्दा पनि देशकै मन्त्रालयले स्वास्थ्यकै क्षेत्रमा ध्यान केन्द्रीत गर्नु पर्ने अवस्था छ । अहिलेको मुख्य काम भनेको बाँच र बाचाउको लागि गर्नु पर्ने छ । आफू बँच्ने र आमजनता बचाउने काम पहिलो हो । अहिलेको अवस्था भनेको कोरोना महामारीको लागि हामीले सबैभन्दा बढी समय लागनु पर्ने छ ।
प्रदेशको सबै ११९ स्थानीय तहहरु, प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा कुन ठाँउको अवस्था कस्तो छ, कस्तो कदम चाल्नु पर्छ भन्ने तयारी गरेर मान्छे बचाउ तर्फ लाग्नु पर्छ ।
हामीले स्वास्थ्यकर्मीहरुसँग समन्वय सम्पर्क गरिरहेका छौ । हामी एक्लैले र यो मन्त्रालयले मात्रै काम प्रभावकारी रुपमा गर्न सक्दैनौ । यो वर्षको दोस्रो लहरको कोरोनोको कारण मृत्युदर गतवर्षको भन्दाबढी रहेकोले पनि बढी नै चुनौतिपूर्ण छ । यो अवस्थासँग मुकाविला गर्ने पहिलो अस्र भनेको सचेतना नै हो । बागमती प्रदेशमा सबैतिरको व्यक्ति बस्ने भएकोले पनि चुनौतिपूर्ण छ । हामीले बचाउनको लागि योजनाहरु बनाउनु पर्छ, जनचेतना फैलाउन पर्ने, मास्क लगाउने, हात धुने, दुरी कायम गर्ने जस्ता कुराको पालना गर्नै पर्छ ।
सचेतनाको कुराहरु सबैले पालना नगर्दा र लापवाहि गर्दा यो अवस्था आएको हो । हिजोको भन्दा भयावह अवस्थामा आज हामी छौ । जनचेतनासँगै विभिन्न हस्पिटलहरुको अनुगमन गर्ने, निरीक्षण गर्ने कामलाई प्राथमिकता दिनु पर्नेछ । कोभिड उपचारको लागि बनिरहेकालाई व्यवस्थित गर्ने र नभएको स्थानमा बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेका छौ । हिजोको समयमा भएका व्यवस्थापनालाई समन्वय गर्दै, विगतको अनुभवलाई साझेदारी गर्दै हामीले यो विषम अवस्थासँग जित हासिल गर्नु छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वय अत्यावश्यक छ । वर्तमान अवस्थामा स्थानीय तहहरुलाई सबैभन्दा जिम्मेवारी बढी छ । स्थानीय तहहरुले बाहिरबाट आएकालाई आइसोलेट गर्ने, उपचार गर्ने, निगरानी गर्ने कामलाई प्राथमिकता दिनुपर्छ । राम्रो कुरालाई ग्रहण गर्ने र नराम्रो कुरालाई त्याग्ने काम गर्नु छ ।
दोस्रो प्राथमिकताः
दोस्रो कुरा शिक्षाको छ । अहिले विद्यालयहरु बन्द भए, शहरी क्षेत्रमा अनलाईन कक्षाहरु छन् । तर ग्रामिण क्षेत्रमा पहुँच छैन, धेरै विद्यार्थी गाउँमा नै छन् । उनीहरुको शिक्षाको अधिकारको सवाल छ । उनीहरुलाई बचाएर शिक्षित बनाउनु छ । मन्त्रीपरिषदको बैठक बसेर सचिव ज्यूहरुसँगको सल्लाह, सहकार्य र समन्वयमा हामीले केही निकास निकाल्ने छौ । शिक्षाको सवाल सचेतनासँग र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकोले पनि यो पहिलो प्राथमिकता जत्तिकै ध्यान दिनु पर्ने सवाल हो ।
तेस्रो प्राथमिकताः
र तेस्रो रोजगारीको कुरा । दिनभरी काम गरेर साँझ खानेहरुको रोजिरोटी टुटेको छ अहिले । धेरैजसो स्थानमा निशेधाज्ञ छ, मजदुरी गर्नेहरुको गाँस जुटाउने समस्या छ । यसको सवालमा पनि हामीले प्लानि· र समन्वय गर्नुछ । गाउँमा गर्न सकिने सानातिना रोजगारीहरु के के हुन् । रोजिरोटीको लागि हुनेले दिने र नहुनेले लिने जस्ता कार्यक्रमहरु राख्नु पर्छ । स्वास्थ्य शिक्षा र रोजगारी अर्थात गाँसको व्यवस्थालाई हामीले चासो राख्नु राख्नु परेको छ । कोभिडको समयमा रोजगारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारेको सवाललाई हामी लागेका छौ ।

यसका अतिरीक्त यो विषम अवस्थामा महिलाको सवाल पनि कम्ति चुनौतिपूर्ण छैन । आज पनि महिलाहरुलाई समाजको दोस्रो दर्जाको रुपमा राखिएकै छ । यो विभेदको अन्त्य गर्नको लागि हामीले योजना बनाउनु पर्छ । दलित, सिमान्तकृत, अपा·ता भएकाहरु सबै वर्गमा महिला छन् । उनीहरुको अवस्था नाजुक नै छ । जनसङ्ख्याको हिसाबले तुलनात्मक रुपमा बढी भएपनि हैसियतामा संधै पछाडि छन् । महिलालाई रोजगारीको व्यवस्था नगरी महिलाको अवस्थामाथि उठाउन सकिन्न, अहिले पनि महिला र पुरुष एकै स्तरको भएपनि पहिलो नाम पुरुषकै आउँछ अनि मात्रै महिलाको आउँछ ।
पहिलो कुरा महिलालाई पुरुषको दाँजोमा ल्याउन आर्थिक रुपमा महिलालाई सशक्त पार्नुपर्छ । हामीले मन्त्रालय अन्तरगत गर्नुपर्ने कुराहरु अध्ययन गर्न बाँकी छ । गतवर्षको बजेटको कार्यान्वयन पाटो अध्ययान गरेर प्रभावकारी र आवश्यकता अध्ययान गरेर योजनाहरु बनाउनतर्फ हामी लाग्ने छौ । यहाँ मन्त्रालयमा फोकल पर्सन रहेनछ, हामीले यसको व्यवस्था गर्ने छौ । अरु अरु आवश्यकताहरुबारे अध्ययन गरेर योजना बनाइनेछ । सबै वर्ग र समुदायहरुसँगको समन्वय र सुझावको आधारमा हामीले योजनाहरु बनाउने छौ र कायान्वयनमा ल्याउने छौ ।