मकवानपुर । प्रतिनिधी सभाकाे विशेष अधिवेशन बैशाख २७ गते साेमबार बस्ने भएकाे छ । मन्त्रिपरिषद्काे बैशाख १९ गतेकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको विशेषअधिवेशन राष्ट्रपतिले आह्वान गर्नु भएको छ ’ राष्ट्रपति कार्यालयकाे विज्ञप्तीमा भनिएकाे छ ।
प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ भने नेपाली काँग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ पार्टी छाडेका ४ जना पदमुक्त भएपछि०, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १–१ सिट रहेको छ । जसमध्ये नेपाली काँग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।
