मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिवेशनहरूको मिति ताेकेकाे छ । एमालेले तहगत रूपमा गर्ने अधिवेशनहरूकाे मिति तय गरेको हाे । गत वैशाख ६, १० र १२ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार एमालेले तहगत अधिवेशनको मितिलाई अन्तिम रूप दिएको हाे ।
पार्टी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई केन्द्रीय कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशन मार्फत् जिल्ला तहमा सर्कुलर गरेको एमालेले जनाएकाे छ ।
अन्तरपार्टी निर्देशनमा २०७८ असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने भनिएकाे छ । सदस्यता नविकरण पश्चात स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने भनिएको निर्देशनमा उल्लेख छ । एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने निर्देशनमा भनिएकाे छ।
भदौ ५ गते वडा अधिवेशनको मिति तोकिएको छ। भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने साथै ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिएको छ । असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ। साे पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने कार्यक्रम सहितकाे तालिकामा उल्लेख गरिएकाे छ ।
मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ। फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटीले नै महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो।