गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका १ संसद् सम्पर्कविहीन भएपछि बैठक स्थगित भएकाे हाे ।
प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही सम्पर्क विहिन भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीका तर्फबाट सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् । उनले सांसद शाही सम्पर्कविहीन भएकोले खोजी गर्न तथा प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।
यसअघि बुधबार बसेको प्रदेशसभा बैठक सभामुख नेत्रनाथ अधिकारीले साढे चार बजेसम्मका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद शाही प्रदेशसभामा अनुपस्थित रहेको पार्टीको सम्पर्कमा समेत नरहेपछि अविश्वास प्रस्तावका पक्षधर दलहरुले बैठक स्थगन गर्न माग गरेका थिए ।