मकवानपुर। बुधबार बैशाख १५ गतेबाट मकवानपुर जिल्लामा चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । आज बुधबारबाट लामो दुरी र अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनमा जोरविजोर प्रणाली कढाईका साथ लागू हुने भएको हाे ।
यसअघि बैशाख १२ गते बाट हेटौंडामा चल्ने निजी सवारीमा प्रशासनले जोरबिजोर लागू गरेको थियो । बुधबारबाट अर्का सुचना नभएसम्म लामो दूरीका सवारी, सरकारी र अत्यावश्यक सेवा (स्वास्थ्य, खाद्यान्न, खानेपानी, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, बैंक तथा वित्तय संस्था, दुरसञ्चार, क्वारेन्टाइन, आइसोलेसन र फोहोरमैला) बाहेकका जिल्लाभित्र संचालन हुने सबै सवारीमा जोरबिजोर लागू गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसको बैठकले निर्णय गरेको छ ।
बुधबारबाट जिल्लामा सैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्का सुचना नभएसम्मको लागि बन्द हुनेछन् । कोभिडको मध्यनजर गर्दै यस्तो निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । सेवाग्राहीको अत्याधिक भिड हुने राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय, यातायात व्यवस्था सेवा कार्यालयको आन्तरिक कार्य बाहेक सबै प्रकारका सेवा अाजबाट अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

यसैगरी मकवानपुरमा संचालित सवै बैंक तथा वित्तिय संस्थाहरू हप्तामा ३ दिन मात्र खुन्ने भएकाे छ । कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनकाे लागि बैशाख १४ गते प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं सञ्चालकहरूसँग बसेको बैठकले बैक तथा वित्तिय संस्था हप्ताकाे ३ दिन विहान ११ वजेबाट दिउँसाे २ बजेसम्म खेाली सेवा प्रवाह हुने व्यवस्था मिलाउने निर्णय गरेकाे हाे ।
बैंक तथा वित्तिय संस्थाकाे एटिएम भने २४ घण्टा खुल्ला रहने छन् । सहकारी सस्थाहरूले घर घर गरी गरिने वित्तिय काराेबार भने बन्द रहने भएका छन् । मकवानपुरमा बुधबारबाट बार अनुसार तालिका बनाएर व्यवसाय संचालन हुने भएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हप्तामा ३/३ दिनको तालिका अनुसार बजारका पसल, व्यवसाय संचालन हुने निर्णय गरेको हो । केन्द्रको बैठकले मकवानपुर उद्योग वाणिज्य संघलाई समन्वय गर्न परिपत्र गरे पछी संघले सुची तयार पार्दै १७ व्यवसाय तालिकामा संचालन गर्न संयोजक तोकेको छ ।


