मकवानपुर । नेपाल पत्रकार महासंघ, मकवानपुरले आफ्ना गतिविधिलाई नियमित बनाउन विभिन्न उपसमिति गठन गरेको छ । महासंघको शनिबार बसेको नियमित बैठकले उपसमिति गठन सम्बन्धी निर्णय गरेकाे हो ।
गत चैत्र २५ गते देशभर एकैसाथ सम्पन्न महासंघको अधिवेशन पश्चात मकवानपुरमा निर्वाचित शाखा अध्यक्ष मणिराज गौतम नेतृत्वको महासंघले आफ्ना गतिविधिलाई नियमित गर्ने भएको हो । महासंघले आफ्ना गतिविधिलाई निगरानी गर्न अध्यक्ष गौतमको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा ध्रुब अधिकारी र महिला उपसमितिको संयोजकमा सरला अधिकारी रहने निर्णय भएको छ ।
सचिव शुभलक्ष्मी विश्वकर्माको संयोजकत्वमा अभिलेखीकरण उपसमिति, सहसचिव एमपी शर्माको संयोजकत्वमा प्रशिक्षण उपसमिति र कोषाध्यक्ष केशव समर्पण सुवेदीको संयोजकत्वमा आर्थिक उपसमिति रहने निर्णय भएको छ । साथै, कार्यसमिति सदस्यहरु विजय पौडेलको संयोजकत्वमा स्वास्थ्य उपसमिति, उज्ज्वल अधिकारीको संयोजकत्वमा प्राविधिक उपसमिति र शान्ति सुनारको संयोजकत्वमा समावेशी उपसमिति गठन गर्ने निर्णय महासंघले गरेको छ ।
आगामी १५ दिनभित्र सम्बन्धित उपसमितिका संयोजकले आफ्नो उपसमितिलाई पूर्ण बनाई कार्ययोजनासहित महासंघको बैठकमा पेश गर्न पनि बैठकले निर्देशन दिएको छ । महासंघले आसन्न विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बैशाख २० गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ । साथै, महासंघका उपाध्यक्ष ध्रुब अधिकारीका पिता कृष्णप्रसाद अधिकारीको दुखद् निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोक प्रस्ताव पारित गरेको छ ।