मकवानपुर । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रका सबै शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएकाे छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएकोमा त्यस्तो निर्देशन दिएका हुन् । यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ ।
त्यसैगरी सिनेमाहल पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार र रंगशालामा हुने दर्शक सहितको खेलकुद, मनिसहरुको भिडभाड हुने कुनैपनि कार्यक्रम बैशाख मसान्तभित्र नगर्न आदेश जारी गरेका छन् ।
त्यस्तै सार्वजकि स्थल मठ मन्दिर भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न र सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा उल्लेख गरिएको छ ।
