मकवानपुर । राष्ट्रिय सभाकाे रिक्त १ सदस्य पदका लागि जेठमा निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा १ पद रिक्त भएको जानकारी गराएपछि आयोगले सोमबार निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा निर्वाचित गृहमन्त्री रामबहादुर थापा बादल नेकपा माअाेवादी केन्द्रकाे कारवाही स्वरुप ससद पद खारेज भएकाे थियाे ।
राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको हो । जेठ ७ मा पद रिक्त भएको ३५ दिनको अवधि पुग्दै छ ।
बागमती प्रदेशबाट निर्वाचित थापाको पद रिक्त भएपछि उक्त स्थानमा बागमती प्रदेशभित्रैबाट पदपूर्ति हुनेछ । त्यसका लागि बागमती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् ।
माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापालाई कारबाही गरेपछि उनको पद रिक्त भएको थियो । गत आइतबार राष्ट्रिय सभा सचिवालयले बादलकाे सांसद पद खारेज भएको सूचना जारी गरेकाे थियाे ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका पूर्व माओवादी नेता थापा बादल सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेकै कारण नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।