मकवानपुर । नेपालमा आजदेखि काेराेना (कोभिड–१९) को दोस्रो मात्राको खोप लगाइँदै छ। गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागले जनाएकाे छ ।
पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो। उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले आजदेखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन्।
दोस्रो मात्राकाे खोप कसले कहिले लगाउने
गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा खाेप लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते लगाउने तालिका सावर्जनिक भएकाे छ । यस्तै माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउन विभागले भनेको छ।
मकवानपुरमा कोभिशिल्डको दोस्रो मात्रा दिइने
मकवानपुरमा पनि कोभिशिल्डको दोस्रो मात्रा दिइने भएकाे छ । स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार आज दोस्रो डोज दिने कार्यक्रममा पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार,कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीलाई खोप लगाईनेछ ।
कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिकाका भित्रकालाई हेटौंडा-१० को गोरक्षश्वर मन्दिर परिसरबाट खोप लगाईनेछ भने अन्य ९ वटा पालिकाभित्रकालाई पालिका स्तरमै खोप लगाउने तयारी भएको छ ।
पहिलो डोज लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने बताईएको छ । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो । मकवानपुरमा पहिलो चरणमा ४ हजार ९ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।