मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५१ जना काेराेना भाइरस संक्रमणमुक्त भएका छन् । याे सँगै काेराेना निको हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लाे २४ घण्टमा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
छिमेकी मुलुक भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तथ्यांकमा देखिएको छ । गत बिहीबार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २ सय ८८ जनामा संक्रमण पुष्टि भएको हाे ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७सय २५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।
हेटौंडामा एक बालक सहित ४ जनामा कोरोना संक्रमण
यसै गरी पछिल्लो २४ घण्टामा बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा एक जना बालक सहित ४ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा-३ की ८५ वर्षीया महिला,४१ वर्षीया महिला र ६ वर्षीय बालक रहेका छन् । यसैगरि हेटौंडा-४ की ३२ वर्षीया महिला रहेकी छन् ।
शुक्रबार १४ जनाको स्वाब परीक्षणमा ४ जनामा संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १४ पुगेको छ । संक्रमितहरु आफ्नै घरमा उपचाररत रहेका छन् ।
यसैगरि मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।
मकवानपुरमा हालसम्म पुष्टि भएको ३ हजार ९ सय ६ जना संक्रमितमा ३ हजार ८ सय ६० जना संक्रमण मुक्त भएको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।