मकवानपुर / प्रहरी हिरासतभन्दा स्कुलमा मानव अधिकार हननका घटना अत्यधिक हुने गरेको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका सहसचिव यज्ञप्रसाद अधिकारीले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा शनिबार हेटौंडामा भएको छैटौ रणनीतिक योजना तर्जुमा सम्बन्धमा परामर्श कार्यक्रम उनले यस्तो बताएका हुन् । राज्यका निकायहरु अधिकार कार्यान्वयनको पाटोमा उदासिन देखिएको गुनासो उनले गरे । कर्मचारी र स्वयम मानव अधिकारकर्मीको मानव अधिकारको रक्षा र उनीहरुले कर्तव्य भूमिका बारे चासो र चिन्ता गर्नुपर्ने अवस्था भएकोले परामर्श गोष्ठीको आयोजना गरिएको आयोगका सचिब वेदप्रसाद भट्टराईले बताए । सरोकारवालाहरूबाट महत्वपूर्ण सुझाव प्राप्त भएको उनले बताए ।

कार्यक्रममा मानव अधिकार तथा जनसरोकार समिति मकवानपुरका अध्यक्ष अधिवक्ता इश्वरी अधिकारीले काममा ढिलासुस्ती हुनु पनि मानव अधिकारको गम्भीर हनन भएको बाताए । यसैगरी कार्यक्रममा प्रहरीको सुरक्षा अवस्था धेरै नाजुक रहेको शसस्त्र प्रहरीका डिएसपी अमरबहादुर खत्रीले बताए । जनतालाई सुरक्षाको प्रत्याभूत गर्नुपर्ने प्रहरी नै विभिन्न प्रकोपबाट असुरक्षित रहेको उलने बताए ।
बालअधिकारकर्मी तिलोत्तम पौडेलले बालविकासमा राज्यकाे रुचि नहुनु मुख्य चुनौती रहेको बताए । बाल विकासका कार्यक्रममा राज्यले गरेको लगानी साह्रै न्यून रहेको बताए । “कार्यक्रम छ भनेर मख्ख मात्रै परेका छौ,त्यसको प्रभावकारिता बारे सुक्ष्ममा विश्लेषण खै” उनले भने । बिद्यालयमा बालिका सुरक्षाको सवाल पनि टिठलाग्दो रहेको उनले बताए । बालश्रम, बिद्यालयमा बालबालिकाले भोग्नु परेको शारीरिक दण्ड, महिनावारी प्याडको गुणस्तरीयता, युवामा देखिएको लागुऔषध, युवा मानव अधिकार रक्षकको गोपनियताको जस्ता सवाल रणनीतिक योजनामा समेटिनुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला कानुन सहायता समिती प्रमुख अप्सरा बस्नेतले न्यायमा सहज पहुँच नभएको बताइन् । प्रत्येक स्कुलमा ५० प्रतिशत छात्र र केही प्रतिशत छात्राहरु लागुऔषधमा फसेको कुरा गहिरो अध्ययन नभएको प्रती अधिवक्ता बस्नेतले गुनासो गरिन । जनप्रतिनिधिबाट मानव अधिकार संरक्षण भन्दा दुरुपयोग भएको उनले बताइन । हिंसामा परेको महिलाले न्यायीक उपचारको लागि आफ्नो वडाबाट सिफारिस लिन समेत झन्झट भोग्नु परेको उनले बताइन् । यस्ता सवाललाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे रणनीतिक योजना बनाइनुपर्ने अधिवक्ता बस्नेतले बताइन् ।

झण्डै ३ दशकदेखी राज्यले शिक्षक दरबन्दी नबढाईएको कारण गुणस्तरीय सिकाइबाट बालबालिका बन्चित भएको, छात्रवृत्ति पनि साह्रै न्यून भएको, लागुऔषधमा लागेका बालबालिकालाई उन्मुक्ति दिलाउनु धेरै चुनौतीपूर्ण रहेको भूकम्प पुन:निर्माण प्राधिकरण (शिक्षा) मकवानपुर प्रमुख उपसचिव बद्री बहादुर पाठकले बताए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र बागमती प्रदेश प्रमुख कृष्ण गौतमले मानव अधिकारको सवालमा विभिन्न विषम परिस्थितिमा नागरिक समाजको सहकार्य धेरै महत्त्वपूर्ण रहेको बताए । सघींयताको अभ्यासको क्रममा पहुँच बिस्तार गर्नु पर्नेमा आयोगलाई केन्द्रिकृत गरिन नहुने गौतमले बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य नीर ठाकुरले राष्ट्रिय समस्याका बारेमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको र आगामी दिनमा अगाडि बढ्ने क्रममा सुझावहरू कार्यान्वयन गर्न निर्देशन गरिने बताए ।