मकवानपुर । नेकपा एमाले प्रवेश पश्चात माओवादी केन्द्रले कारवाही गरेर सांसद पद गुमाएका चार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आज फेरि मन्त्री पदको शपथ लिने भएका छन् । एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएका लाइ सम्बन्धित दलले निश्कासन गरेपछि सांसदबाट पनि पदमुक्त हुने व्यवस्था छ ।
माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने, सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका रायमाझी, भट्ट, साह र चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था अनुसार पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरिदिएर केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो । नेकपा नाम भने अदालतले ऋषि कट्टेललाई दिएको थियो । त्यसपछि ब्युँतिएका एमाले र माओवादी सांसद विगतमा जुन पार्टीबाट जितेका हुन् त्यतैतिर लागेका थिए ।
भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । रौतहट ३ बाट साह र कैलाली ३ बाट चौधरी निर्वाचित भएका थिए । भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गृहमन्त्री बादल परे माओवादी केन्द्रकाे कारबाहीमा
यसै बीच राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल समेत नेकपा माओवादी केन्द्रकाे कारबाहीमा परेका छन् । केन्द्रले गृहमन्त्री बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ ।

नेकपा एमाले प्रवेश गरेका थापाकाे माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएकोले अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुने माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।
यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।