मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै आज १ बजे बैठक बस्ने जनाएको हो ।
प्रदेशसभा बैठक आज १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।
गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । अविश्वास प्रस्ताव गत माघ ९ गते बसेको प्रदेशसभा बैठकमा टेबल भएपनि छलफल हुन सकेन । माघ १९ गते बस्ने गरी स्थगित भएको बैठक बस्न सकेको छैन ।
त्यसयता प्रदेशसभा बैठक विषेश कारण देखाउँदै दुई पटकसम्म स्थगित भएको थियो । चैत १७ गते प्रदेशका पूर्व वनमन्त्री अरुण नेपाल नेतृत्वको टोलीले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन संसद सचिवालयमा दर्ता गराएपछि बागमती प्रदेशसभा बैठक बस्ने भएको हो ।
आज हुने बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ताबारे सभालाई जानकारी दिने, यसअघि प्रदेशसभा बैठकमा छलफल भएर प्रतिवेदनसमेत तयार भइ बैठकले पास गर्न बाँकी रहेको प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ का विषयमा छलफल हुन सक्ने प्रवक्ता विनोद अमात्यले बताए ।