मकवानपुर । प्रदेश १ का प्रदेश सभा सदस्य टंक आङ्बुहाङको सांसद पद खोसिएको छ । प्रदेश सरकारकाे मन्त्री बनेका आङ्बुहाङको मन्त्री बनेको दश दिनपछि पार्टीले पदमुक्त गरेपछि उनको सांसद पद खोसिएको हो ।
नेकपा माओवादी केन्द्रका सांसद आङ्बुहाङ गत चैत १३ गते प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेर भनेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको जनाइएको छ । पार्टी त्याग गरेको भन्ने विषयमा स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो। आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ सभा संसदीय दलको सिफारिस अनुसार उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड’ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ।
सर्वाेच्च अदालतले नेकपा विभाजन गरे पछी एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । प्रदेश सभाकाे सदस्य नभएकाे सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।