मकवानपुर । नेकपा हालै सर्वोच्च अदालतकाे फैसलाबाट एकिकरण अघिकै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा विभाजन भएअनुसार, बागमती प्रदेशसभामा पनि सत्तारुढ नेकपा एमाले, मोदावादी केन्द्र छुट्टाछुट्टै कार्यालय स्थापना भएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य सानो दलहरुको समेत छुट्टाछुट्टै कार्यालय स्थापना भएको छ ।
नेकपा एमालेको आज आइतबार कार्यालय स्थापना गरिएको प्रदेशसभा सचिवालयले जनाएकाे छ । यसैगरी, प्रतिपक्ष दलको रुपमा रहेका नेकपा माओवादी केन्द्रका प्रदेशसभा परिसर भित्र छुट्टै संसदीय दलको कार्यालय र सभागृहको पनि आइतबार नै स्थापना गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । तर, प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यालय भने साविककै भवना कार्यालय रहेको छ । यस्तै, अन्य साना दलहरुको भने प्रदेशसभा सचिवालयको उत्तरतर्फको पुस्तकालयको माथिल्लो तल्लामा कार्यालय स्थापना भएको सचिवालयले जनाएको छ ।
प्रदेशसभामा हाल नेकपा एमालेको ५७ जना, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीको २३, प्रतिपक्ष दल नेपाली कांग्रेसका २२, साँझा विवेकशील दलको ३, नेपाल किसान मजदुर पार्टीको २, राप्रपाको २, र एक स्वतन्त्र सांसद गरी जम्मा ११० जना सदस्यहरु रहेका छन् ।
बागमती प्रदेशसभा सचिवालयको सातौं अधिवेशन बैठक यही चैत्र २४ गते दिनको १ बजे बस्ने भएको छ । गत माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको सातौं बैठक अधिवेशन माघ ९ गते प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल पश्चात सूचना टाँसेर पटक पटक स्थगित हुँदै गरिदै आएकाे थियो । स्थगित भएको प्रदेशसभाको सातौं अधिवेशन बैठक मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव नेकपा एमालेका नेपाल समूहले फिर्ता लिएसँगै बस्न लागेको हो ।