मकवानपुर । मकवानपुरे साहित्यकार आरसी रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह सार्वजनिक गरिएको छ । प्रमुख अतिथि साहित्यकार विवश पोखरेल, विशिष्ट अतिथि उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश शेषराज शिवकोटी, साहित्यकार धनराज गिरीलगायतले रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘को वरिष्ठ’को सार्वजनिकीकरण गरेका हुन् ।
कार्यक्रममा व्यङ्ग्यकार राजकुमार लामिछानेले सार्वजनिक गरिएको रिजालको कृति सामाजिक सन्देशमूल रहेको बताउनुभयो । समाजको बेथिति र विसङ्गतिमाथि ‘को वरिष्ठ’ले बेजोडरुपमा प्रहार गर्ने र पाठकले सजिलै बुझ्न सकिने भाषाको प्रयोग गरिएको लामिछानेको भनाई थियो ।
साहित्यकार निरा शर्माले कथात्मक शैलीकाे निबन्ध हास्यव्यङ्ग्यमार्फत कृति लेखिएको बताइन्। राजनितिको घटना, सामाजिक घटना र व्यक्तिहरुको प्रत्यक्षरुपमा आलोचना गर्न नसकिने स्थितिमा व्यङ्ग्य लेखनले साहित्यको माध्यमबाट उजगार गर्न सहयोग पुर्याएको शर्माले बताइन् ।
११० पृष्ठ रहेको कृतिमा कथात्मक सामूहिक चेत, लघुकथाजस्ता विषयवस्तुले व्यक्तिको धारणमा परिवर्तन ल्याउने बताइएको छ । नेपाल परनिर्भर बनेको अवस्थामा नेपालमै युवाले परिश्रम गरी जीविकोपार्जन साथै सरकारले युवाको संरक्षण गर्न सक्छ भन्ने विषय सार्वजनिक कृतिमा समावेश गरिएको छ । कृतिमा आमाको बिलौना, राजनीतिक विसङ्गति, मानवीय समवेदना हराएको र धर्मशास्त्रलगायत विषयलाई कथात्मक शैलीमा निबन्धको माध्यममार्फत् उखान–टुक्का प्रयोग गरिएको छ ।
सार्वजनिक कृतिमाथि साहित्यकार सुवास खनालले समीक्षा गरेका थिए। ‘पाठकीय टिप्पणीका रुपमा मात्र आफ्नो टिप्पणी रहेको छ’ उनले भने– ‘हास्यव्यङ्ग्यकार रिजाल आफ्नै शैली र गतिमा हिँड्ने व्यक्ति हुनुहुन्छ ।
आँचल साहित्य कला पुञ्चका अध्यक्ष अनिता न्योपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा साहित्यकार पोखरेल प्रमुख आतिथ्यता, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिलको अध्यक्षतामा भएको थियाे ।