मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा नगर कमिटीले आफ्नाे सगठनमा आवध्द ३ जनालाई स्पष्टीकरण सोध्ने भएको छ । उनीहरुलाई प्रतिगमनमा लागेको भन्दै लिखित स्पष्टीकरण सोध्ने लागिएकाे हाे ।
माओवादी केन्द्र हेटौंडा नगर कमिटीको बिहीबार बसेको बिस्तारित बैठकले तत्कालिन नेकपाको नगर कमिटी सचिवालय सदस्य दिपक खड्का, नगर सदस्यद्वय शालिकराम ढकाल र उत्सव चौलागाईसँग लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।
बैठकले हेटौंडाको १९ वडाको पार्टी इन्चार्ज र अध्यक्ष तोकेको माओवादी केन्द्रका नगर अध्यक्ष तीर्थबहादुर थापा मगरले बताए । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको वडा कमिटीहरुको बैठक चैत्र २३ देखि ३१ गतेसम्म गर्ने र पार्टीको मोर्चा तथा जनवर्गीय संगठनहरुको कमिटीलाई पूर्णता दिँदै नगरस्तरीय भेला बैशाख पहिलो हप्तामा गर्ने निर्णय गरिएको छ ।
बैठकले माओवादीको जनवर्गीय संगठन अन्तर्गतको महिला संगठनको नगर फ्राक्सन इन्चार्जमा चमेली सिञ्जाली र योङ कम्यूनिस्ट लिग (वाइसीएल) नगर संयोजकमा वीरबहादुर गोलेलाई तोकेको छ । कार्यक्रममा माओवादीका हेटौंडा नगर कमिटीका सदस्य तथा वडा कमिटीका अध्यक्षहरूले राजनैतिक, बैचारिक र संगठनात्मक प्रतिवेदन पेश गरेका थिए ।
माओवादी केन्द्रका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा हेटौंडा नगर अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा बैठक भएको थियो ।