मकवानपुर । ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना, २०७८ का तयारी तिव्र बनाइएको छ ।
आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्म सञ्चालन हुने १२ औं जनगणना २०७८ बारे मकवानपुरमा बागमती प्रदेश जनगणना कार्यालयले सचेतना कार्यक्रम गरी जानकारी गराइएको छ । जनगणनाबारे जनचेतना अभिवृद्धिको लागि प्रदेश जनगणना कार्यालयले विभिन्न चरणको कार्यक्रम गरेको छ ।
गणना कार्यको लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भइ, छनौटको तयारीमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको थियो ।
विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्दैछ । यस वर्ष मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने छ । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिएको छ । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।
थप विशेषता सहितको जनगणना हुँदै
संघीय संरचनापछि पहिलो गणनाको रुपमा यो गणना गरिदै छ । जसमा राष्ट्रिय जनगणना सञ्चाालन तथा व्यवस्थापन आदेश २०७६, सामुदायीक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजन सहितको गणना, प्रविधीको प्रयोग, स्थानीय तह अनुसार नतिजा प्रकाशन, ९ महिना भित्र तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरिने छ । यसैगरी संघ, प्रदेश, स्थानीय तह, नीजि तथा गैरसरकारी क्षेत्र बीच समन्वय, सहकार्य र सहयोग तथा सहकार्यमा गणना कार्य गरिने छ ।
५५ वटा मुख्य प्रश्न
जनगणनामा ५५ वटा मूख्य प्रत्रावली रहने छन् । लि·, उमेर, जातजाती, भाषा, धर्म, शिक्षा, वैवाहिक अवस्था, बसाईसराई, अपाङ्गता, आर्थिक काम प्रजनन् आदि ८ आर्थिक काम पेशा र वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण समावेश गरिएको छ ।
यसैगरी काम गर्दाको हैसियत, संस्थागत क्षेत्र काम नगर्नुका कारण र कामको खोजी आदि विषयहरु पनि समावेश गरिएको छ । प्रश्नावलीमा परिवारले उपभोग गरेका सुविधाहरु, खानेपानी, खाना पकाउने इन्धन, बत्ति, टिभि, फोन, सवारी साधन बारेका प्रश्नहरु पनि समावेश गरिएको छ । यसैगरी विगतमा जस्तै महिलाको नाममा भएका घर तथा जग्गाको बारेमा प्रश्न राखिएको बागमती प्रदेश जनगणना अधिकारी राजेश दासले बताए ।
गोपनीयताको प्रश्न
जनगणनामा व्यक्तिले दिएको व्यक्तिगत तथा पारिवारिक विवरण तथ्याङ्क ऐन, २०१५ र यसबमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले गोपनीयताको सुनिश्चित गरेको छ । जनगणनाबाट प्राप्त तथ्याङ्कहरु व्यक्तिगत रुपमा नभई सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिने भएकोले प्रश्नावलीमा समावेश गरिएको सबै प्रश्नावलीहरुको सही उत्तर दिन आम सर्वसाधारणलाई जनगणना अधिकारी दासले आग्रह गरे ।
‘कुनै व्यक्ति, संस्था वा व्यवसायलाई पहिचान गर्ने जानकारीलाई प्रकाशन गरिदैन’ दासले भने ‘जनगणनाको क्रममा दिइएको उत्तरको आधारमा पछि कुनै पनि कानुनी बाधाहरु आउने छैन ।’
राष्ट्रिय जनगणनामा संकलित गरिने विवरणहरू कुनै पनि कर प्रयोजन तथा अन्य कानूनी प्रमाणको रूपमा प्रयोग गर्न नमिल्ने उनले बताए । व्यक्तिले दिएको विवरण जनगणनामा खटिने कर्मचारीहरुले संरक्षण र गोप्य राख्ने सपथ लिने र यस विपरित काम गरेमा निजहरुलाई प्रचलित कानुन बमोजिम दण्ड र जरिवाना गरिने कानुनी व्यवस्था छ ।
यस वर्ष ७ वटा प्रदेश जनगणना कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३४९ वटा स्थानीय जनगणना कार्यालयहरु मार्फत गणना कार्य हुने बागमती प्रदेश जनगणना कार्यालयले जनाएको छ ।
जनघनत्वको आधारमा एक जिल्लामा १ भन्दा बढी जिल्ला जनगणना कार्यालय र एक भन्दाबढी स्थानीय तहहरुलाई गाभेर १ मात्रै स्थानीय तह जनगणना कार्यालयको स्थापनाको तयारी भएको छ ।
२०७८ को जनगणना जेठ २५ बाट असार ८ गतेसम्म हुनेछ । यसैगरी गणनाको तथ्याङ्क प्रशोधन कार्य भदौ १ गतेबाट सुरु हुने छ । असोज मसान्तसम्म गणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइसक्ने प्रदेश कार्यालयले जनाएको छ ।
सचेतना कार्यक्रममा मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गणना कार्यमा सहभागी भइदिनको लागि सबैमा आग्रह गरे । विभिन्न सरकारी कार्यालयहरुले पनि राष्ट्रिय जनगणनाको बारेमा सही सूचना प्रचारप्रसार गर्नको लागि सहकार्य गर्न जिल्ला प्रशासन कार्यालयबाटै अनुरोध गरिएको उनले बताए ।