- सम्झना पौडेल
काडमाठौ / ‘साहित्यिक पत्रकारिताको विकासमा प्रेस काउन्सिल’ नामक पुस्तक आज (बुधबार) सार्वजनिक गरिएको छ । प्रेस काउन्सिल नेपालको सचिवालयमा आयोजित एक समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
संस्मरणलगायत विभिन्न लेख÷सामग्री संलग्न उक्त पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा कार्यवाहक अध्यक्ष बुढाथोकीले पञ्चायतकालमा जनताको आवाज बोल्ने माध्यम साहित्यिक पत्रपत्रिका भएको बताउँदै आफूले पत्रकारिता गर्दाको अनुभूतिबाट साहित्यिक पत्रकारिताको महत्व र चुनौती बुझ्ने अवसर पाएको बताए । पत्रपत्रिका वर्गीकरण गर्दा साहित्यिक पत्रिकाको मापदण्ड छुट्टै बनाएको उनले बताए । साहित्यिक पत्रपत्रिका बाँच्नु भनेको देशको संस्कृति बाँच्नुसरह भएको उनले बताए ।
काउन्सिलका पूर्व सदस्य एवं पुस्तकका सम्पादक चेतनाथ धमलाले साहित्यिक पत्रकारिता गर्नु फलामको चिउरा चपाउनुसरह भएको आफ्नो अनुभूत गरेको बताए । साहित्यिक पत्रिकारिताको अवस्था अझै पनि दयनीय रहेको उनले गुनासो गरे । उनले काउन्सिलमा आफू सदस्य हुँदा साहित्यिक विधामा भए ÷ गरेका कामको चर्चा गर्दै पुस्तक सम्पादनका जटिलता, पुस्तकमा समावेश भएका लेख ÷ रचनाको विषयमा जानकारी दिए ।
यसैगरी काउन्सिलका सदस्य दीपक पाण्डेले अर्काको आलोचना गर्दा ठुलो हुन्छु भन्ने प्रवृत्ति हावी हुने गरेको बताए । ‘यो देश र समाजको लागि घातक हो’ उनले भने । काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले साहित्यिक पत्रकारिताको विकासमा आफूहरूको तर्फबाट कति पनि कञ्जुस्याईँ नरहने स्पष्ट पारे । उनले काउन्सिलले सरकार र साहित्यिक पत्रकारबिच सम्बन्ध सेतुको रुपमा काम गर्ने बताए ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले साहित्यिक पत्रकारिताको विकासका लागि काउन्सिलले प्रदेशस्तरीय, जिल्लास्तरीय सहित विविध कार्यक्रम गर्ने गरेको चर्चा गर्दै पुस्तकमा साहित्यिक पत्रकारिताको कार्यक्रम गर्दा देखेका, भोगेका र अनुभूत गरेका कुराहरू समावेश भएको बताए । नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव मोहन दुवालले साहित्यिक पत्रकारिताको विकासमा काउन्सिलको योगदान अतुलनीय भएको बताउँदै आगामी दिनमा अझ साथ र सहयोगको अपेक्षा गरे ।
वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँद्धारा सञ्चालित उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत रामशरण बोहरासहित साहित्यकार, साहित्यिक पत्रपत्रिकाका सम्पादक, प्रतिनिधि र काउन्सिलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।