मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ ।
भीमफेदी ५ माथिल्लो सुपिङ्गबाट सुरु भएको कार्यक्रमकाे गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले शुभारम्भ गरेकी छन् । कार्यक्रमको शुभ आरम्भ गर्दै उपाध्यक्ष रानाले गाउँपालिकाले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुका लागि सम्वन्धित वडा बाटै स्वास्थ सेवा उपलब्ध गराउने गरी कार्यक्रमको सुरु गरेको बताईन् ।
सबै वडामा घरमै स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुको परीक्षण पश्चात आवश्यक औषधीहरुको पनि व्यवस्था गरिने उनले बताईन् । मंगलबार सुरु भएको कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक राम थिङ्गले जानकारी दिए ।

स्वास्थ्य संयोजक थिङ्गका अनुसार स्वास्थ्य परीक्षणमा जेष्ठ नागरिकहरु तथा दिर्घ रोगीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिइएकाे छ । उनले भने– ‘स्वास्थ्य परीक्षणबाट तत्काल उपचार गर्नु आवश्यक पर्ने देखिए गाउँपालिकालेनै रिफर गरेर उपचार गरिनेछ व्यवस्था समेत गरिने छ ।’ आज बुधबार भीमफेदी ६ नंबर वडामा जेष्ठ नागरिक तथा स्वास्थ्य सेवा कार्यक्रम गरिने बताइएकाे छ ।