- दिव्या प्रियंवदा
१.
मन त लाग्छ मलाई पनि अरू जस्तै प्रसन्न हुन
कसैको कमी सहन सक्दिन बाध्य हुनु पर्छ रुन
कसैले नसम्झे पनि रहदैन अधेरो निशा सधैँ भरी
किरणले हिमाल रङ्ग्याउँदै छाड्दैन सूर्य उदाउन।
२.
न काम लाग्ने गरी पैसा दिने मान्छे हुन सकें
न त शीतल मायाले मन छुने गरी रुन सकें
विहानै फूल छोएको वतास चल्दा थाहा पाएँ
त्यसै बितेछ रात न कुनै उज्यालो जून छुन सकें।
३.
भेटेर के गर्नु मन कच्याककुचुक पार्ने सित
केवल एउटा हात दिँदा सिङ्गै मुटु दार्ने सित
जूनले सित्तल दिएको हुन्छ रातभरि नै तर
विहानै लालि देखेर सूर्यतिरै माया सार्ने सित।
४.
एकचोटि प्रेमसागरमा डुबेपछि उत्रिन सकिदैन
अमर प्रेमकहानी वियोगमा नै हुन्छ नत्र पढिदैन
पाएपछि महत्त्व घट्छ तड्पिनुको मजा छुट्टै छ
टाढाबाट पहाड सुन्दर लाग्छ सजिलै चढिदैन।
५.
विस्तारै ‘जान’ भन्यौ र ‘वेजान’ बनायौ
मुटु भरिको मीठो नाम बेनाम बनायौ
इमान पढें जीवनभर तर कागज गनेर
मेटिदियौ क्षणभरमा बेइमान बनायौ।
६.
अमूल्य ठान्थें माया, बेचिने बनाएर गयौ
अनेकौं कागजका टुक्रामा टुक्राएर गयौ
बेच्ने किन्ने मायाको पसल रहेछ सम्बन्ध
जति नाफा कमायौ घाटा लगाएर गयौ।
७.
कसैले नराम्ररी ठेस लागाएको थियो
तेसैले खुट्टा उचाल्न सिकाएको थियो
ताराहरूको मलाई पनि पर्वाह थिएन
एउटै जूनले उज्यालो फिजाएको थियो।
८.
माया न लाग भन्छु लागिरहन्छ
किन होला यो भोक जागिरहन्छ
बत्तीमा पसेको पुतली जस्तो मन
पोले पनि बत्तितिरै भागिरहन्छ।
९.
बोल्न सक्दिन फोन नगर मन दुखेको बेला
गालामा नुनिलो पानीले बेस्सरी चुमेको बेला
पुरानै हो आँखाको पानी र दु:ख पोख्ने तरिका
तर पनि गारो नै हुन्छ त्यो पानी नसुकेको बेला।
१०.
किन शिर यसरी झुकाएर बस्छौ
पहिले नै सौभाग्य सुकाएर बस्छौ
आफ्ना पाखुरा नचलाउने अनि
अरुको देखेर मन दुखाएर बस्छौ ।
११.
न काम लाग्ने गरी पैसा दिने मान्छे हुन सकें
न त शीतल मायाले मन छुने गरी रुन सकें
विहानै फूल छोएको वतास चल्दा थाहा पाएँ
त्यसै बितेछ रात न कुनै उज्यालो जून छुन सकें।
१२.
आफन्त ती हुन् जसलाई भेटेर आनन्द हुन्छ
कसैको कुराले त मुटुको धडकन बन्द हुन्छ
संसार रङ्गीन देखिन्छ चङ्गा मनले नियाल्दा
बुझ्नेलाई चराको प्रत्येक चिरबिरमा छन्द हुन्छ।
१३.
आजभोलि पराइसित बोल्न मन लाग्दैन
भ्रमको आगोमा मन पोल्न मन लाग्दैन
आफ्नो लागि सबै प्रिय हुने यो संसारमा
कसैसित भित्री कुरा खोल्न मन लाग्दैन।
१४.
सुतें भने पनि सपनाले उठाइदिन्छ
उठें भने पनि सम्झनाले रुवाइदिन्छ
अपराध गर्दैछन् यादहरू सधैँ जसो
थाहा छैन यो मन कस्ले बुझाइदिन्छ।
१५.
सम्बन्धमा बाँधिएको प्रेम निरस हुँदोरहेछ
सम्बन्धमा नबाँधिएको प्रेम विवश हुँदोरहेछ
प्रणय निवेदनका कलाहरू मुस्कुराए पनि
निवेदन नै नगरिएको प्रेम सरस हुँदोरहेछ।
काठमाडाै