- प्रसुन घिमिरे
१.
निराशाको हुरी मनमा चल्न थाले पछि
पिडाको अागो मनमा बल्न थाले पछि
सम्बन्धहरु सबै फिक्का हुँदा रै छन
अवसर खोजी खोजी नुनचुक दल्न थाले पछि ।
२.
मन पर्ने र पराउनेको बजार छ यहाँ
तिमीलाई मन पराउने हजार छ यहाँ
तिम्रो मन मन्दिरको पुजारी म हुन
तिम्रो पाइलै पिच्छे मेरो नजर छ यहाँ ।
३.
यो दिलमा तिम्रो नाम लेखुँ लेखुँ भा’छ
सपनीमा पनि तिमीलाई देखुँ देखुँ भा’छ
सपनीमा बिपनिमा तिम्रै झल्को आउँछ
हातमा फुल लिइ बाटो छेकौं छेकौं भा’छ ।
४.
जिन्दावाद र मुर्दावादको नारा अति भो
वाक्क दिक्क भइसके सारा अति भो
हानथाप र लुछाचुँडी कतिन्जेल हो यस्तो
बङ्ग्याउने कोही नङ्गयाउने पारा अति भो ।
५.
सुवास चाहिँदैन महामहिम आवास भए पुग्छ
आश नबाँड महामहिम दुई छाक गाँस भए पुग्छ
शान्ति र अमन चयन आउने आश मर्यो अब
मलमल गद्द्दा चाहिँदैन महामहिम कपास भए पुग्छ ।
६.
तिमीले दियौ खाएँ,खा’को नुन तिर्नु छ मैले
जीवन कि मरण हुँदा पा’को खुन तिर्नु छ मैले
हरेक कठिनाइमा हातमा हात दिन त नसकुँला
दु:खमा पर्दा तिमीले ला’को गुन तिर्नु छ मैले ।
७.
मुटुनै चुँडिए झैं घाउमा छन् कोही
किनारा नभेटिने नाउमा छन् कोही
आफु रहे देश न हो अरुकाे के मतलब
घर भत्काई गोठ बनाउने दाउमा छन् कोही ।
८.
धन जोख्ने तुलो त किनें हजारमा
मन जोख्ने तुलो किन्न पाईंन बजारमा
धन ठुलो कि मन ठुलो सकिन ठम्याउन ?
भन्न त मनै ठुलो भन्छन् प्रचारमा ।
९.
बाहाना बद्लिएछ थाहा भयो आज
चाहना बद्लिएछ थाहा भयो आज
हिजो सम्म गुन्द्रुक र ढिंडो भए ठिक्थ्यो
जमाना बद्लिएछ थाहा भयो आज ।
१०.
जुनी जुनी अमर हुने माया लाए पछि
सँगै बाच्ने सँगै मर्ने कसम खाए पछि
म त यसै दङ्ग छु खुशीको त के कुरा
आयु बढोस् भन्दै तिमीले मन्दिर धाए पछि ।
हर्नामाडी हेटाैडा १८, मकवानपुर