- भवानी तिमल्सिना न्याैपाने
१.
सफलताको शिखर चढ्दा पाउ गल्न दिने छैन ।
मनमा जो विस्वास छ त्यसलाई ढल्न दिने छैन ।
तनको दुरी रहदा मनमा डुल्न खोज्लान वैरी
रोकी तिनका पाईला अघि चल्न दिने छैन ।
मन मुटाब शुरु होला विश्वासको खडेरीले
शंकाको आगो सल्किएर बल्न दिने छैन ।
नुग्न दिने छैन कहिले उँचो राख्छु तिम्रो शिर
कसैको पाउ झुकि तिमीलाई मल्न दिने छैन ।
भरोसाले सजिएको सुन्दर फूलबारी भित्र
अविश्वास र घृणाको फल फल्न दिने छैन ।
२.
बेचे राष्ट्रियता बेचे स्वाभिमान विडम्बना छ।
नराख्ने भए पुर्खाको त्यो शान विडम्बना छ ।
आमाको लुछियो कोख चेलिको पुछियो सिउँदो
बिर्सिए ती हजारौँको वलिदान विडम्बना छ ।
आफ्नु स्वार्थ सिद्ध गर्न दुष्मनको पाउ मलि
देश टुक्र्याउने गर्छन जमान विडम्बना छ ।
जति सरोस जंगे पिलर चासो छैन कपुतलाई
गर्छन सदा कुर्सिमा तानातान विडम्बना छ ।
देशको चिन्ता नलिएर धाएका छन् छिमेकमा
खाएर दक्षिणेको मोहनी पान विडम्बना छ ।
३.
मेरो मुटु तिमी बिना म सास फेँरु कसरी ।
मन भित्र नै बसेका छौ वास हेँरु कसरी ।
तिम्रा होलान् दौँतरी अनगिन्ति कति कति
छु कि छैन म तिमिलाई खास केरुँ कसरी ।
भन्छौ रमाउ साथमा परे भोगौँला मिली
चल्छ समाजमा गन्ध बतास टेरुँ कसरी ।
स्वच्छ छ हाम्रो सम्बन्ध कञ्चन पानी झै
धमिल्याउने हुदैछ प्रयास बेरुँ कसरी ।
वैरीहरुले एक हुन नदिए नि बाँच्छु म त
पाउछू सधैँ तिम्रो प्रेमाभास सेँरु कसरी ।
हेटाैडा, मकवानपुर