मकवानपुर । मकवानपुरको बागमतीमा सुरु चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । बागमती-८ जनता माबिको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकलाई ३-१ ले हराउदै सिमराले बिजयी सुरुवात गरेको हो ।
सिमराको जितमा दोस्रो हाफको १६ र २३ औं मिनेटमा जर्सी नम्बर १८ का एलोन राइले दुई गोल गरे । त्यस्तै थप एक गोल भने १४ नम्बर जर्सि सुशान्त तामाङले २८ औं मिनेटमा गरे । आयोजकका तर्फबाट जर्सी नम्बर १२ का उमेश लोप्चनले दोस्रो हाफको ३० औं मिनेटमा पेनाल्टीबाट सान्त्वना गोल गरेका थिए । त्यस पछिको खेलमा अग्रता लिन नसक्दा आयोजकले १ गोल मै चित्त बुझाउनु परेकाे छ ।
खेलको म्यान अफ दि म्याच सिमराका जर्सी नम्बर १८ का एलोन राई घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे । प्रतियोगिता अन्तरगत १५ गते आइतबारको खेल रिगल हेटौंडा रिसोर्ट र एपीएफ नेपाल काठमाडौबीच हुने आयोजकले जनाएको छ ।

खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र ) स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा( प्रभाकर)ले गरेका हुन । खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ । प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
यस अघी भएकाे पहिलो बागमती गोल्ड कप को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुली तथा दोस्रो र तेस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं ले पोल्टामा पारेका थिए ।