मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले ताजा जनादेशको लागि चुनाबमा जानुपर्ने बताएका छन् । उनले वैशाखमा हुने पार्टीको महाधिवेशनबाट ताजा जनादेश र संकटबाट मुक्तीको नारा सहित जनताको माझ जाने भन्दै चुनाबबाटै पार्टीलाई स्थापित गर्ने प्रयास रहने बताए ।
गृह जिल्ला मकवानपुरमा पार्टिको जिल्ला परिषद बैठकलाई संबोधन गर्दै अध्यक्ष थापाले एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भइरहेको कसरत अपवित्र भएकाे बताएका हुन् । अब अपवित्र गठबन्धन होइन चुनाबबाट मात्र देशको संकट टर्ने दावी समेत थापाले गरेका छन् ।
‘परिवर्तन पछि १४ बर्षको गलत राजनीतिक अभ्यासले गर्दा नेपालको इतिहासमा डरलाग्दो भ्रष्टाचारको दलदलमा मुलुक फसेको छ’ उनले भने ‘ सत्ता र प्रतिपक्ष दुबै भ्रष्टाचार र लुटको पक्षमा देखिएका छन् । ’
यसैगरी अध्यक्ष थापाले अाफ्नाे पार्टी नफुट्ने बताएका छन् । उनले पार्टी एकतालाई टुट्न नदिनका लागि दुई अध्यक्षहरु पशुपति शमशेर राणा र प्रकाशचन्द लोहनीलाई गिता छोयर कसम खान लगाएको समेत स्मरण गर्दै पार्टी एकता नफुट्ने दाबी गरेका हुन् । नँया नेपाल निर्माण गर्ने, शान्ती र स्थायीत्व कायम गरेर आर्थिक लक्ष्य बोकेर यात्रा सुरु गरेको अवस्थामा अहिले हामी ठिक विपरित गन्तव्य आईपुगेका छौ उनले भने ।
उनले देशमा २०६२/६३को परिर्वतन पछि अबलम्बन गरिएको अवधारणा र मार्गचित्रबारे पुर्नविचार गर्नुपर्ने र धर्मनिरिपेक्षता,गणतन्त्र र संघियताबारेमा खुला बहस गर्नुपर्ने बताए । उनले राजासहितको प्रजातन्त्रले देशमा विकास समृद्धि आउने बताए । अध्यक्ष थापाले कम्युनिस्ट र कांग्रेस असफल भएको भन्दै देशमा शान्ति र स्थाईत्व,आर्थिक समृद्धको लक्ष्य हासिलको लागि राप्रपा बलियो शक्तिको रुपमा अघि बढ्ने दाबी गरेका थिए ।
यसै बीच राप्रपा मकवानपुरको जिल्ला परिषद् बैठकबाट गुरु प्रसाद सापकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिती निर्बिरोध निर्बाचित भएका छन् ।

शुक्रबार हेटौंडामा भएको राप्रपा मकवानपुर जिल्ला परिषदबाट सापकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
यसअघि सापकोटा हेटौंडा उपमहानगर अध्यक्ष थिए । शुक्रबार राप्रपा अध्यक्ष कमल थापाको उपस्थितिमा राप्रपा मकवानपुरको जिल्ला परिषद् सम्पन्न भएको हो । राप्रपा जिल्ला समितिको सदस्यमा अर्जुनप्रसाद गौतम, मीठाराम खड्का, अम्बिका खतिवडा, सीता दाहाल, सुन्दर कुँवर, सरस्वती थिङ लगायत चयन भएका छन् ।
जिल्ला समितिमा निर्वाचित सदस्यको २५ प्रतिशतसम्म मनोनित गरिने नवनिर्वाचित अध्यक्ष सापकोटाले बताए । पार्टीको जिल्ला समितिको पदाधिकारीहरु पछि चयन गरिने भएकाे छ ।