मकवानपुर । ‘नेपालमा कम्यूनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको ’नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । ‘राष्ट्र र स्वाधिनतामाथि हमला भएकाले राष्ट्रवादी कम्यूनिष्टहरु गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ उनले भने – ‘पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग हाे ।’
उनले पार्टीलाई केन्द्रसँगै गाउँतहबाट सुद्धीकरण गरी बलियो कम्यूनिष्ट पार्टी बनाउँने बताएका छन् । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएकाे बताए ।
पुँजीवादमा निर्भर हुँदा नेपालमा गरिब झन् गरिब र धनी झन् धनी बन्दै गएको भन्दै उनले राज्यले बजारको अनुगमन मात्र गर्दा जनता धेरै मारमा परेको बताए । ‘विश्वभर पूर्णपुँजीवादी व्यबस्था असफल भईसकेको छ,’ उनले भने, ‘राज्य नियन्त्रित पुँजीवाद अर्थात् समाजवाद आवश्यक भईसकेको छ ।’
नेपालमा समाजवाद प्राप्त गर्न नेतृत्व गर्ने पार्टी आवश्यक भएको भन्दै त्यसका लागि माओवादी केन्द्रलाई उत्पादनसँग जोडिएको पार्टी बनाउनुपर्नेमा स्थायी कमिटी सदस्य प्रभाकरले जोड दिए । पार्टीका सबै कमिटी आन्तरिक जनवाद(लोकतन्त्र)मुलक बनाउनुपर्ने भन्दै सबै नेता, कार्यकर्ता गम्भीर भई गाउँगाउँमा संगठन विस्तारमा तत्काल लाग्न उनले आग्रह गरे ।
उनले अर्काे प्रशंग जाेड्दै भने ‘संघीयता, समावेशी र धर्म निरपेक्षता स्वीकारेर आएकाले एमालेसँग सहकार्य गरेपनि धोका भएको छ ।’ सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटाउने फैसला गरेर आत्मनिर्णयको अधिकार हनन् गरेको भन्दै शक्ति केन्द्रहरूका कारण अदालतले त्यस्तो गरेको आरोप पनि लगाए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुर ईन्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेताहरु ओम घलान, सर्केश घलान, विरबहादुर घलान ‘ज्वाला’, कमानसिं पाख्रिन, प्रकाश पाण्डे, विवेक राई, बालकृष्ण चौलागाई, सुमन पाख्रिन, रामहरी सुवेदी लगायतको सहभागिता रहेको थियो ।