- नैना अधिकारी
१.
एक्लै कुनामा बसी रुन्छे ऊ त्यो चार दिन
बारम्बार आफूलाई धुन्छे ऊ त्यो चार दिन
पीडामा पीडा नथप्नु उसलाई अछुतो भनेर
बिचरी धेरै पीडामा हुन्छे ऊ त्यो चार दिन ।
२.
आँसु जति सबै मलाई नै दिएर जाऊ
टुक्रा भएको यो मुटु मेरो सिएर जाऊ
सक्छौ भने एकपटक अाएर तिमी
तिम्रा सबै यादहरू समेटी लिएर जाऊ ।
३.
मान्छे चाहिन्छ कि चाहिन्छ नोट पहिल्यै भनिदिनु
छ भने थोरै पनि नियतमा खोट पहिल्यै भनिदिनु
छोरी हाम्रो मुटु हुन, बेच्न राखिएको सामग्री होइन,
दाइजोको निहुमा दिइन्छ कि चोट पहिल्यै भनिदिनु।
४.
नाटक सिनेमा हेरेर रुन्छन् यहाँ
कहानी सुनेर भावुक हुन्छन् यहाँ
वास्तविकतामा हेर्दा अर्कै छ हजुर
असहायको पीडा कसले सुन्छन् यहाँ ।
५.
पहिरो गएको जस्तो गरी मन त्यतै गयो
सधैंभरिलाई बसाई सरी मन त्यतै गयो
चुम्बक तिमी म फलामको टुक्रा जस्तै,
बस्न देऊ टासिएर सधैंभरि मन त्यतै गयो।
६.
कर्मको फल पाइन्छ एकदिन हजुर रुनु हुँदैन
भाग्यलाई धिक्कार्दै सधैँ निधार छुनु हुँदैन
दुःखको रात पछि सुखको उज्यालो आउँछ
अधिक समय लाग्यो भनेर हतास हुनु हुँदैन ।
७.
बिग्रिन नपाई सबै काम सम्हाल्न पाएँ हुन्थ्यो
मनका पीडा साथमा बसेर फाल्न पाएँ हुन्थ्यो
तिम्रो मनमा बसिसकेँ अब घरमा भित्र्याए हुन्छ
बुहारी बनि हरेक साँझ बत्ती बाल्न पाएँ हुन्थ्यो ।
८.
गोर्खा चेली हुँ म गुन्युचोली लाउनेे गर्छु
संस्कृति जोगाउने भाषा गीत गाउने गर्छु
अबला नारी बनि बस्नु छैन अब मलाई
अन्याय देख्दा म आवाज उठाउने गर्छु ।
९.
पैसा-पैसा भन्दै यो जिन्दगी खेर जाने हो
किन मरिहत्ते गर्नु आखिर एकपेट खाने हो
सम्पत्ति कमाउने होडमा अन्धो हुन्छौं किन
मरेपछि साथमा खोई हामीले के पो लाने हो ।
कामरूप खेत्री,असम,भारत