मकवानपुर । हेटौंडा चेस क्लबतथामकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा बागमती प्रदेशकाे राजधानी हेटौंडामा बुधबारदेखि अन्तर शहर राष्ट्रव्यापी टिम चेस प्रतियोगिता शुरु भएको छ ।
नेपालका विभिन्न शहरको प्रतिनिधित्व गर्दै सहभागी भएका १७ टोलिको प्रतिष्पर्धा रहेको प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेल सम्पन्न भएका छन् । पहिलो चरणको समाप्तिमा दोलखा तथा ललितपुर स्पोर्टस क्लबले शत प्रतिशत नतिजा निकाल्दै सुखद शुरुवात गरेका छन् । दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको नेतृत्वमा रहेको दोलखाको टिमले पहिलो खेलमा काठमाण्डौ गोकर्णेश्वरको माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबलाई ४–० को अन्तरले पराजित गर्यो ।
त्यसैगरी युवा खेलाडी सुश्रुत दाहालको नेतृत्वको ललितपुर स्पोर्टस क्लबले प्रदेश–१ बुद्धिचाल संघको टोलीलाई ४–० को अन्तरले हराउनै हराएकाे छ । प्रतियोगिताको शिर्ष टोली हेटौंडा उपमहानगरपालिकाले धनगढी उपमहानगरलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको छ । यसै महिनाको पहिलो साता भक्तपुरमा सम्पन्न अन्तर नगरपालिका कपको उपाधि जितेकाे नेपालका स्टार खेलाडी सम्मिलित टोलीका लागि पहिलो चरणको पहिलो बोर्डको नतिजाअप्रत्याशित रह्यो ।
वर्तमान महिला च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनीलाई धनगढीका युवा खेलाडी दिपक धामीेले पराजीत गरेसँगै दबाब झेलेको हेटौंडालाई फिडेमास्टर रुपेश जयसवाल, वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाई तथा पूर्व राष्ट्रिय च्याम्पियन शुरवीर लामाले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो चरणको समाप्तिमा दोलखा लगायत ८ टोलीले समान २÷२ म्याच प्वाईन्टका साथ प्रतियोगितामा अग्रता बनाउन सफल रहे । गजुरमुखी चेस क्लब ईलामले स्याङ्जालाई, ललितपुर महानगरले पोखरा महानगरलाई, नाईट चेस क्लब काकडभिट्टा झापाले बिदुर नगरपालिका नुवाकोटलाई, महालक्ष्मी नगरपालिकाले मिसन चेस क्लब काठमाडौंलाई तथा भक्तपुर नगरपालिकाले बाँकेलाई समान ३ का विरुद्ध १ अंकको अन्तरमा पराजीत गर्दै प्रतियोगितामा अग्रता बनाएका छन् ।
प्रतियोगिताको विशेषताको रुपमा प्रत्येक टोलिले आफ्नो पहिलो बोर्डमा अनिवार्य रुपमा महिला खेलाडी वा १६ वर्ष भन्दा मुनि उमेर समुहको खेलाडीलाई प्रतिष्पर्धा गराउनुपर्ने बाध्यात्मकव्यवस्थाले समग्र प्रतियोगिताआकर्षित बनेको छ ।
कुल पुरस्कार राशी ५ लाख ५० हजार रुपैंया रहेको प्रतियोगिताका विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तेश्रो हुनेले ५० हजार तथा चौथो र पाँचौ स्थानमा रहनेले क्रमशः ३० हजार तथा २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तिगतर्फ प्रत्येक बोर्डका उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गर्नेछन् ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एक समारोहका बिच चेसको गोटी चालेर प्रतियोगिताको आरम्भ गरेका थिए। चैत्र १४ गतेसम्म सञ्चालनहुने यस प्रतियोगिताअन्तरगत विहीबार ३ चरणका खेल सञ्चालन हुनेछन् ।