- गीताश्री शर्मा
१.
कलिलो घामको झुल्कोसँग सधैं हाँसेकी छौ
डाँफे मुनाल मैना चरीसँगै तिमी नाचेकी छौ
तिमीलाई सम्झँदा गौरवले छाती फुल्छ कन्चन
दुवै देशको सम्बन्धलाई दह्रो बनाई गाँसेकी छौ।
२.
ह्दयको बगैँचामा ढकमक फुलहरू फुलेसरी
भमराहरू खुशी खुशी फुलबारीमा झुलेसरी
कहिले लाग्छ यो जिन्दगी छरिएको बतास झैं
संसार हेर्ने रहर बोकी मनै मनले डुलेसरी।
३.
चुँडिएको सारंगी बोकी धून खोज्न निस्कन्छन् कोही
औंशीको रातमा पनि जून खोज्न निस्कन्छन् कोही
गाग्रो बोकी मरुभूमिमा पानी खोज्नु पर्ने विडम्बना कतै
उमालेको तरकारीमा केवल नुन खोज्न निस्कन्छन् कोही।
४.
मनकी चरी मेची पारी कहिले वारी तर्छे
कहिले हिमाल चढ्छे फेरि तराई झर्छे
दिएर नसकिने जिन्दगीको परीक्षा भन्दै
जित्ने कोशिश गर्छे सधैं हारको सूचीमा पर्छे।
५.
खुसी तिमी भयौ भने म त यसै खुसी हुन्छु
आँखा सामु देख्दा सधैँ हृदयले पाउ धुन्छु
मन प्राण र वचनले आफ्नो ठानिसकें मैले
छेउमा आई बसिदेऊ नयनले मुहार छुन्छु।
६.
दुई दिनको जिन्दगीमा हाँसेर जिउने गरे
च्यातिएको लुगालाई जतनले सिउने गरे
दुःख-पीर पछिसरी समेटिन्छन् खुसीहरू
कुवाको पानी पनि गंगाजल सोची पिउने गरे।
७.
कहिले ढक पल्लामा यो शरीर जोखिने
हिँड्दा हिँड्दै बिच बाटोमै ठप्प रोकिने
बाँचुन्जेल तेरो-मेरो गरेर के पाइन्छ खोई
खरानी बनेर कुन दिन पानीमै हो पोखिने।
८.
तिम्रो प्रत्येक प्रश्नको उत्तर खोजेँ तर पाइनँ
मान–सम्मान नघटोस् भनेर म छेउमा आइनँ
अफ्ठ्यारो परिस्थितिमा पार्दिनँ निर्धक्क बस्नु
आँखाको नानीभित्र राखेर बसौंला सामु छाइनँ।
९.
तिम्रा पनि पक्कै थिए मनभरि रहरहरू
सपनाका महल अनि घुम्न जाने सहरहरू
परिस्थिले बाँधिएर घर छोडी परदेशिंदा
पोलेको त्यो मनभित्र चाहनाका कहरहरू।
१०.
सकिनँ मैले खुसी हुन तिम्रो हृदय दुख्दाखेरी
थामिएन आँखाको झरी तिम्रो दह सुक्दाखेरी
दुई ज्यान एउटै मुटु भएर हामी हाँसेका थियौँ
हेरेर गगन कसरी हिँडौँ तिम्रो शिर झुक्दाखेरी।
११.
कहिले काहीँ मन पनि एकान्तमा रमाउँछ
झर्न खोज्ने मोतीलाई परेलीले समाउँछ
उपहारमा यादहरू गाड़ा भई बसिदिन्छ
गाडधनलाई जोगाएर नयाँ नाता कमाउँछ।
१२.
मिठो वचन सधैं हृदयबाट बोलिदिए
नराम्रा विचार र धारणालाई पोलिदिए
हरेक दिन प्रणय दिवस बन्ने थियो यहाँ
निश्वार्थ माया एक आपसमा घोलिदिए।
गान्तोक, सिक्किम