मकवानपुर । अख्तियर दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राही संग घुस लिएको आरोपमा विहीबार २ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत र काठमाडौ महानगरपालिकाका वडा सचिव सेवाग्राहीसँग घुस लिएको आरोप पक्राउ परेका हुन ।
मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजा घरबाट बिहीबार स्रोत नखुलेको ५५ हजारसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका ३० नम्बर वडा कार्यालय ज्ञानेश्वरका वडा सचिव भरतकुमार पोखरेलाई चार लाख रुपैयाँ घूस रकम सहित पक्राउ गरेको छ ।
निर्माण कार्य सम्पन्न पश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस रकम माग गरेको उजुरीपछि आयोगको कार्यालय टंगालबाट खटिएको आयोगको टोलीले अधिकृत छैटौँ तहका पोखरेललाई बिहीबार रंगेहात पक्राउ गरेको हो।
पोखरेललाई रकम सहित उनकै कार्यकक्षबाट आयोगले नियन्त्रणमा लिएको हो ।